नयाँदिल्ली । पहलगाम घटनाको अघिल्लो कडीको रूपमा भारतले पाकिस्तानमाथि युद्ध थोपरेपछि त्यसका विभिन्न प्रतिक्रिया अगाडि आइरहेका छन् ।
युद्धको प्रारम्भिक प्रतिक्रियाको रूपमा आइपिएल स्थगन, विमानस्थलका उडान रद्ध, एक्सका खाता ब्लकजस्ता परिघटना अगाडि आएका छन् ।
भारतले बुधबार आतङ्कवादी शिविरलाई लक्षित गर्दै हवाई आक्रमण सुरु गरेपछि र दशकौँमा यी दुई छिमेकीबिच सबैभन्दा खराब झडप भड्किएपछि मुख्यतया पाकिस्तानमा झन्डै ५० जनाको मृत्यु भएको छ ।
मुख्य प्रतिद्वन्द्वीले कस्मिरमा आफ्नो विवादित सीमा पार गरेर ड्रोन र क्षेप्यास्त्रका साथै तोप चलाएका छन् । हिंसाले छिमेकीबिच व्यापक सङ्घर्षको डर बढाएको छ ।
आइपिएल स्थगन
भारतीय प्रिमियर लिग (आइपिएल) नयाँदिल्ली र पाकिस्तानबिचको बढ्दो सीमातनावका कारण अनिश्चितकालका लागि स्थगित गरिएको भारतीय मिडियाले शुक्रबार रिपोर्ट गरेका छन् ।
बिहीबार धर्मशालामा भएको खेल रद्ध भएपछि क्रिकेट अधिकारीले टी–२० प्रतियोगिता स्थगित गर्ने निर्णय गरेका हुन् । धर्मशाला केही घण्टाअघि विस्फोट भएको जम्मु सहरबाट दुई सय किलोमिटरभन्दा कम दूरीमा छ ।
पाँचपटकको विजेता चेन्नई सुपर किङ्ग्सले एक्समा लेखेको छ– “प्रत्येक कदममा साहस । प्रत्येक धड्कनमा गर्व । हाम्रा सशस्त्र सेनालाई सलाम !’
यो खाताले सशस्त्र सेनाको तस्वीर ट्याग गरेको छ र यसमा लेखिएको छ– ‘राष्ट्र पहिले । अन्य सबै कुरा पछि ।’
दश टोलीको आइपिएल मार्च २२ मा सुरु भएको थियो । आइपिएलमा विश्वभरका धेरै क्रिकेट स्टार छन् र यो खेलको सबैभन्दा धनी प्रतियोगिता हो ।
फाइनल मे २५ मा कोलकाताको इडेन गार्डेनमा हुने तालिका थियो र यसले सामान्यतया विश्वभरको ठुलो टेलिभिजन दर्शक सङ्ख्या आकर्षित गर्दछ ।

२४ विमानस्थलमा उडान निलम्बन
भारतले आणविक–सशस्त्र प्रतिद्वन्द्वी पाकिस्तानसँगको लडाइँपछि उत्तरी क्षेत्रका २४ विमानस्थलमा नागरिक उडान स्थगित गरेको छ ।
बिहीबार राति भारतीय सरकारले २४ विमानस्थलको सूची जारी गरेको छ । त्यहाँ नागरिक उडान बन्द गरिएका छन् । ती विमानस्थल पाकिस्तानसँगको पश्चिमी सीमा नजिकका जोधपुर, लुधियाना र अमृतसर जस्ता सहरमा रहेका छन् ।
एयर इन्डिया, इन्डिगो र स्पाइसजेट जस्ता भारतका केही ठुला एयरलाइन्सले बुधबारदेखि एक सयभन्दा बढी उडान रद्ध गरिसकेका छन् ।
स्थानीय मिडियाले नागरिक उडानको निलम्बन शनिबार बिहान हटाइने सम्भावना रहेको रिपोर्ट गरेका छन् ।
भारतीय एयरलाइन्सले अन्य विमानस्थलबाट उड्ने यात्रुलाई सुरक्षा उपाय बढाउने सरकारी सूचना उल्लेख गर्दै प्रस्थानभन्दा कम्तीमा तीन घण्टा अगाडि आइपुग्न अनुरोध गर्दै सल्लाह जारी गरेका छन् ।

आठ हजारभन्दा बढी एक्स खाता ब्लक गर्न निर्देशन
भारतले एक्सलाई आठ हजारभन्दा बढी खाता ब्लक गर्न आदेश दिएको प्लेटफर्मले बिहीबार जानकारी दिएको छ । साथै प्लेटफर्मले सरकारद्वारा लागु गरिएको सेन्सरसिप भनेर वर्णन गरेको कुरासँग अनिच्छापूर्वक पालना गरिरहेको जनाएको छ ।
यो कदम भारतको व्यापक कारबाहीको हिस्सा जस्तो देखिन्छ, जसले आणविक–सशस्त्र छिमेकीबिच बढ्दो तनाव र घातक झडपका बिचमा पाकिस्तानी राजनीतिज्ञ, सेलिब्रिटी र मिडिया संस्थानका सामाजिक मिडिया खातालाई लक्षित गरेको छ ।
एक्सका अनुसार अन्तर्राष्ट्रिय समाचार संस्था र अन्य प्रमुख प्रयोगकर्तालाई ब्लक गर्न माग गरेको यो आदेश मेटाले नयाँदिल्लीको अनुरोधमा इन्स्टाग्राममा एक प्रमुख मुस्लिम समाचार पेज भारतमा प्रतिबन्धित गरेको एक दिनपछि आएको हो ।
“कम्पनीका स्थानीय कर्मचारीलाई उल्लेखनीय जरिवाना र कारावासको सम्भावित दण्डसहित एक्सले भारत सरकारबाट कार्यकारी आदेश प्राप्त गरेको छ जसमा एक्सले भारतमा आठ हजार बढी खाता ब्लक गर्न आवश्यक छ” साइटको विश्वव्यापी सरकारी मामिला टोलीले एक विज्ञप्तिमा भनेको छ ।
धेरैजसो मामिलामा सरकारले खाताबाट कुन पोस्टले भारतीय कानुन उल्लङ्घन गरेको छ भनेर निर्दिष्ट गरेको थिएन र अन्य धेरैमा यसले ब्लकका लागि कुनै प्रमाण वा औचित्य प्रदान गरेको थिएन ।
एलन मस्कको स्वामित्वमा रहेको प्लेटफर्मले मागसँग असहमति जनाएको तर भारतमा निर्दिष्ट खाता रोक्ने प्रक्रिया सुरु गरेको बताएको छ ।
“सम्पूर्ण खाता अवरुद्ध गर्नु अनावश्यक मात्र होइन, यो विद्यमान र भविष्यका सामग्रीको सेन्सरसिप बराबर हो र अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकारको विपरित हो” विज्ञप्तिमा भनिएको छ– “यो सजिलो निर्णय होइन यद्यपि प्लेटफर्मलाई भारतमा पहुँचयोग्य राख्नु भारतीयको सूचना पहुँच गर्ने क्षमताका लागि महत्त्वपूर्ण छ ।” (रासस/एएफपी)