नैरोबी । केन्याको एक अदालतले बेल्जियमका दुई किशोरसहित चार जनालाई हजारौँ जीवित कमिलालाई देशबाहिर तस्करी गर्ने प्रयास गरेको आरोपमा सात हजार अमेरिकी डलरभन्दा बढी जरिवाना गरेको छ ।
केन्याली वाइल्डलाइफ सर्भिस (केडब्लुएस) ले चारै जनालाई ‘बायोपाइरेसी’ मा संलग्न भएको आरोप लगाएपछि यो मुद्दाले निकै चर्चा पाएको छ ।
बेल्जियमका १८ वर्षीय डेभिड लोर्नोय र सेप्पे लोडेविजक्स, भियतनामका दुह हुङ गुयेन र केन्याका डेनिस न्गाङ्गाले कमिलाहरू राखेको स्वीकारेका छन् तर तिनीहरू तस्करी गर्न लागिएको भने नभएको बताएका छन् ।
राजधानी नैरोबीबाट करिब १६० किलोमिटर टाढा रहेको नाकुरू काउन्टीमा दुई हजार दुई ४४ ओटा ट्युबमा प्याक गरिएका पाँच हजार रानी कमिलासहित लोर्नोय र लोडेविजक्क्सलाई पक्राउ गरिएको थियो ।
एएफपीले देखेको आरोपपत्रअनुसार दुह र एनगाङामा कपासको ऊनले भरिएको एक सय ४० ओटा सिरिन्ज र दुई कन्टेनरमा कमिला राखिएको अवस्थामा फेला परेका थिए । यी दुई मुद्दा छुट्टाछुट्टै थिए तर चारै जना विरुद्ध एकसाथ मुद्दा चलाइएको थियो ।
बेल्जियममा लोर्नोयलाई ‘कमिलाप्रेमी’ को रूपमा वर्णन गरिएको छ भने उहाँले घरमा कमिलाका समूहको भण्डारण गरेका छन् । उनी ‘कमिला र कमिला पालन’ नामक फेसबुक समूहको सदस्य हुन् । उनले अनुसन्धानकर्तालाई कमिलाको ओसारपसार गैरकानुनी हो भन्नेबारे आफूलाई जानकारी नभएको बताएका छन् ।
नैरोबीको प्रहरीले बेल्जियनले लगेको कमिलाको मूल्य १० लाख सिलिङ (सात हजार ७४० अमेरिकी डलर) मूल्य बराबरको रहेको बताएको छ ।
अदालतको प्रतिवेदनअनुसार उक्त चोरीमा दुर्लभ ‘मेसोर सेफालोट्स’ प्रजातिको कमिला पनि समावेश छ, जसमध्ये एक रानी कमिला हाल कम्तीमा ९९ अमेरिकी डलरमा बिक्री भइरहेको छ ।
अनुमतिबिना कुनै पनि वन्यजन्तुको नमुना वा ट्रफी राख्नुलाई केन्याको कानुनले एक आपराधिक घटना मान्छ । घटनामा संलग्न व्यक्तिलाई सामान्यतया १० हजारसम्म जरिवाना र पाँच वर्ष वा त्यो भन्दा बढी जेलसजाय हुन सक्छ । (रासस/एएफपी)





