काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामका लागि कडा सर्त अघि सारेका छन्।
अमेरिकासँग यो साताको सुरुमा ३०–दिने युद्धविरामका निम्ति तयार भएको भनेर युक्रेनले गरेको सहमतिबारे पुटिनले प्रतिक्रिया दिएका हुन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनको प्रतिक्रियालाई ‘कुटिल’ भन्दै रुसविरुद्ध थप आर्थिक प्रतिबन्धको आह्वान गरेका छन्। अमेरिकाले रुसको तेल, ग्यास अनि ब्याङ्किङ क्षेत्रमा थप प्रतिबन्ध लगाएको छ।
मस्कोमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुटिनले युद्धविराम प्रस्तावबारे भने ‘विषय सही हो, यसलाई हामी समर्थन गर्छौँ। तर छलफल गर्नुपर्ने केही प्रश्नहरू छन्।’
युद्धविरामले ‘दीर्घकालीन शान्ति स्थापना गर्नुपर्ने र सङ्कटको जरोको समाधान हुनुपर्ने’ पुटिनलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ, ‘हामीले अमेरिकी तथा साझेदारहरूसँग कुराकानी गर्न आवश्यक छ । सायद डोनल्ड ट्रम्पसँग मेरो कुराकानी होला।’
‘तीसदिने युद्धविराम हासिल भए युक्रेनीहरूलाई राम्रो हुने छ,’ पुटिनले भने, ‘हामी त्यसको पक्षमा छौँ तर यसलाई सूक्ष्म ढङ्गले परीक्षण गर्नुपर्छ।’
पुटिनका अनुसार विवादको एउटा विषय रुसको कुर्स्क क्षेत्र हो। त्यहाँ युक्रेनले गत वर्ष अतिक्रमण गरेर केही भूभाग कब्जामा लिएको थियो।
पुटिनका अनुसार कुर्स्क अहिले पूर्णरूपमा रुसको नियन्त्रणमा आइसकेको छ र त्यहाँ युक्रेनी फौजलाई ‘तितरबितर’ पारिएको छ।
‘उनीहरू त्यहाँबाट जान खोजिरहेका छन्। तर हाम्रो नियन्त्रण छ। तिनका सामग्रीहरू त्यत्तिकै छाडिएका छन्’ पुटिनले भने, ‘कुर्स्कमा युक्रेनीहरूसमक्ष दुईवटा विकल्प छन् – आत्मसमर्पण या मृत्यु।’
युद्धविरामको प्रस्तावप्रति आफ्ना प्रश्नहरू रहेका भन्दै पुटिनले सोधे, ‘ती ३० दिन कसरी उपयोग गरिन्छ ? के युक्रेनका निम्ति पुनः परिचालनको मौका दिएर ? पुनस् सशस्त्रीकरण गरेर ? मानिसहरूलाई प्रशिक्षित गरेररु वा ती केही पनि हुँदैनन्रु अनि अर्को प्रश्न – तिनको नियन्त्रण कसरी हुन्छ ?’
उनले थपे, ‘लडाइँ रोक्ने आदेश कसले दिन्छ? कुन मूल्यमा ? २,००० किलोमिटर क्षेत्रमा सम्भावित युद्धविराम उल्लङ्घन भएको कसले निर्क्योल गर्छ ? यी प्रश्नका समाधानका निम्ति दुवै पक्षबाट गहन काम हुनुपर्छ। युद्धविराम लागू कसले गराउँछ ?’