कञ्चनपुर । राष्ट्रिय जनमोर्चा, कञ्चनपुरले स्थानीय समस्याहरूलाई समेट्दै जिल्लाको दक्षिणी बेलौरी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
मंगलबार (भदौ १९ गते) जिल्ला अध्यक्ष रामबहादुर कार्कीको नेतृत्वमा गएको टोलीले नगरप्रमुख पोतीलाल चौधरीलाई ज्ञापन बुझाएको हो ।
यस्तै, आजै लालझाडी गाउँपालिकामा समेत ज्ञापन बुझाएको छ ।
ज्ञापन पत्र बुझाउँदै अध्यक्ष कार्कीले जिल्लाको दक्षिणी क्षेत्रका सडकको अवस्था, शिक्षा, स्वास्थ्यलगायत जनजीविकासँग जोडिएका समस्या समाधान गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा राजमो सूदूरपश्चिम प्रदेश सचिव राजाराम चौधरीको उपस्थिती रहेको थियो ।
यस्तै, बेलौरीमा राजमो बेलौरी नगर अध्यक्ष रङ्ग बहादुर चौधरी, उपाध्यक्ष लक्ष्मी चौधरी, अखिल नेपाल जनजाती सम्मेलनका जिल्ला अध्यक्ष राजकुमार चौधरी, तथा लालझाडीमा स्थानीय नेता राजबहादुर राना, खुशीराम रानालगायतको सहभागिता रहेको थियो ।
राजमो कञ्चनपुरले बाँकी पालिकाहरूमा पनि स्थानीय समस्यालाई समेट्दै ज्ञापन बुझाउने र समग्र जिल्लाका समस्याबारे जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने जनाएको छ।
