गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले शासनको बागडोर सम्हालेका राजनीतिक दलबाट सहिदको अपमान भएको आरोप लगाउनुभएको छ । मुलुक र जनताको अधिकारको आन्दोलनमा सहादत प्राप्त गरेका अमर सहिदलाई कदर गर्नुको साटो उल्टै अपमान गर्ने गरेको उहाँको तर्क छ ।
अड्तिसौँ सरोज स्मृतिदिवसको अवसर पारेर २०८१ भदौ ११ गते मङ्गलबार सहिद टङ्क–सरोज स्मृति प्रतिष्ठान अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भट्टले यस्तो बताउनुभएको हो ।
‘सहिदका सपना पूरा गर्नु त परै जाओस्, सत्तारूढ दलहरू उल्टै भ्रष्टाचार र राजनीतिक विकृतिमा लिप्त छन्’ महासचिव भट्टले भन्नुभयो– ‘त्यसैले मुलुकमा सहिदको अपमान भइरहेको छ ।’
राजनीतिक दलको सत्ता, पदलोलुपता, स्वार्थरूपी चरित्रमा परिवर्तन नआएको र जनताले राहत महसुस गर्ने गरी सरकारले काम गर्न नसेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । व्यक्तिगत मामिलाका झगडा, कतिपय दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत सहिद घोषणा गर्नुपर्ने र १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक सहिदको भावनामा चोट पुगेको महासचिव भट्टको भनाइ थियो ।
प्रतिष्ठानका उपाध्यक्ष गोविन्द बिसीको अध्यक्षता, चन्द्रप्रसाद बन्जाडेको स्वागत मन्तव्य र सचिव देवेन्द्र कुँवरको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राजमो लुम्बिनी प्रदेश सल्लाहकार शेरबहादुर बिसी, राजमो केन्द्रीय सदस्यद्वय झबिलाल थापा, सागर केसीलगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै उहाँहरूले मुलुकको परिवर्तनमा सहिदले खेलेको भूमिका कसैले पनि भुल्न नहुने बताउनुभयो ।
२००१ सालमा सन्धिखर्क–२ तत्कालीन किमडाँडा गाउँ पञ्चायत वडा नम्बर ९ कुरमा जन्मिनुभएका सहिद शोभाखर धनन्जय (सरोज शर्मा) को २०४३ साल भदौ ११ गते भारतको दिल्लीमा अस्वाभाविक मृत्यु भएको थियो ।
२०३६ सालसम्म नेपाली कङ्ग्रेस, २०४१ सम्म रामराजा प्रसाद सिंहको बहुदलीय जनवादी मोर्चाको केन्द्रीय सदस्य, पछि २०४२ सम्म आफ्नै नेतृत्वमा बहुदलीय जनवादी मोर्चा सञ्चालन, २०४२ सालमा सशस्त्र युद्ध घोषणापश्चात असहमती जनाउँदै आफ्नो नेतृत्वको मोर्चालाई नेकपा (मसाल) मा समाहित गर्नुभएको थियो ।
सहिद सरोजलाई समाज सुधारको आन्दोलनको आवाज उठाएबापत राणाहरूले हत्या गरेको हुन सक्ने पारिवारिक स्रोतले जनाएको छ । सरोजले आफू जीवित छँदा “हाँक” पत्रिकाको संस्थापक र नेपाली एकता पत्रिकाको सहसम्पादकको रूपमा रहेर मिडिया क्षेत्रमा समेत योगदान पुर्याउनुभएको जानकारहरूले बताएका छन् ।
