काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद स्वीकार्य नहुने बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष केसीले भ्रष्टाचार गर्नेलाई पानीमुनी गएपनि छोड्न नहुने धारणा राख्नुभयो ।
उहाँले पाँचवर्षे हदम्याद राखेर कानुन बनाउन खोज्नु भ्रष्टाचारीहरूकै षडयन्त्र भएको स्पष्ट पार्नुभयो।
‘भ्रष्टाचार गर्नेलाई हदम्याद दिन मिल्छ? ज्यानमारालाई हदम्याद दिन मिल्छ ? डकैत गरेर हदम्यादको प्रबन्ध गर्न मिल्छ ? यो ठूलो षडयन्त्र हो । भ्रष्टाचारीहरूकै षडयन्त्र हो । त्यसकारण यसको नेपाली जनताले विरोध गरेका छन्’ केसीले भन्नुभयो, ‘भ्रष्टाचार गरेकालाई पानीभित्र गएपनि हदम्याद दिन हुन्न । अधिकांश सत्तामा बस्नेहरू शक्तिमा बस्नेहरू भ्रष्टाचारी भएको हुनाले आफूहरुको अपराधको दोषबाट उम्कने षडयन्त्र हो । यसमा नेपाली जनतालाई मान्य हुन सक्दैन ।’
उहाँले जुनसुकै मूल्य चुकाएर भएपनि सत्तामा जाने र भ्रष्टाचार गर्ने प्रवृति बढेको बताउनुभयो । सत्ता र शक्तिमा रहेकाहरूको सम्पत्ति छानबिन हुनुपर्ने केसीको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘राणाकाल र पञ्चायतमा पनि भ्रष्टाचार थियो तर त्यो इतिहास भयो। नेपाली जनताको माग के छ भने बहुदल आएयता २०४७ सालपछि कस कसको कति सम्पत्ति छ छानबिन हुनुपर्छ भन्ने माग छ।’
अध्यक्ष केसीले नेपालमा भ्रष्टाचार नहुने ठाउँ नै छैन भन्नुभयो । हरेक पार्टीभित्र भ्रष्टाचारी भएको केसीले बताउनुभयो । कुनैपनि काण्डका भ्रष्टाचारीलाई छोड्न नहुने उहाँको स्पष्ट अडान थियो ।
‘हरेक पार्टीमा भ्रष्टाचारी छन्, एउटा दुईटा पार्टी होइन, प्रायः हरेक पार्टीहरूमा भ्रष्टाचारी छन्। ती भ्रष्टाचारीहरूलाई नेपाली जनताले कारबाही गर्र्नुपर्छ, सजाय हुनुपर्छ भन्ने ठूलो माग छ। चाहे सहकारीका भ्रष्टाचारी हुन्, चाहे सुन चोर हुन्, चाहे ललिता निवास जग्गा प्रकरणका होउन्, चाहे गिरीबन्धु टी स्टेटका हुन्।’
उहाँले पाँचवर्षे हदम्याद राखेर मुद्दा नचल्ने षडयन्त्र मान्य नहुने पनि दोहोर्याउनुभयो ।
‘अहिले नयाँ जुक्ति के आयो भने भ्रष्टाचारीलाई पाँचवर्षभित्र उजुरबाजुर नगरे मुद्दा नलाग्ने’ केसीले भन्नुभयो, ‘यो राष्ट्रिय जनमोर्चालाई मात्रै होइन, कुनैपनि नेपाली जनतालाई मान्य छैन ।’