काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चीनको सहयोग परियोजना बीआरआईलाई स्वीकार गरियो भने नेपाल ऋणमा डुब्छ भन्ने भाष्य स्थापित गर्न खोजेको भन्दै आपत्ति जनाउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उहाँले नेपालमा बीआरआई परियोजनाको विरोध गरेर एमसीसी परियोजनालाई बलियो बनाउन लागिएको भन्दै त्यस कुराप्रति नेपाली जनता सजग हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘अहिलेकै सत्ताधारी साथीहरुले एमसीसी ल्याउँदाखेरी, अमेरिकनहरुले एमसिसीको भारी बोकाउँदाखेरी धुन्धान विरोध गरेको होइन ? हामी सत्तामा बस्ने छैनौँ । हामी राजनीति गर्ने छैनौँ भनेर नेपाली जनताको अगाडी उफ्रेको होइन ? आखिरी कथित १२ बुँदेको जामा लगाएर, १२ बुँदेबाट एमसीसीबाट नेपाल राष्ट्रलाई पर्ने असरबाट १२ बुँदेले चोख्यायो भनेर छल, कपट गरेर, षड्यन्त्र गरेर, अमेरिकी साम्राज्यवादको पासो नेपाली जनतालाई बोकाएको हो कि होइन ?’
अमेरिकाले चिन विरोधी अखडा नेपाललाई बनाउनका लागि एमसीसी परियोजना ल्याएको उहाँको भनाई छ ।
उहाँले बिआरआई परियोजना र एमसीसी परियोजनालाई एकै ठाउँमा राखेर तुलना गर्नु नहुने बताउनु भयो । केसीले बीआरआई र एमसीसी परियोजना बिचको अन्तर स्पष्ट पार्न माग गर्नुभएको छ ।
उहाँले एमसीसीलाई अमेरिकी साम्राज्यवादको पासोको संज्ञा दिनुभयो ।
केसीले भन्नुभयो, ‘नेपालको सन्दर्भमा यदि त्यो बीआरआईको ऋण चर्को ऋण हो भने यतिबेला एमसीसीलाई बलियो बनाउँदै लाने । एमसीसी भनेको नेपाललाई इण्डोप्यासिफिक रणनीतिभित्र सामेल गरेको होइन ? अमेरिकाले चीनसँगको प्रतिस्पर्धामा नेपाललाई उपयोग गर्नका लागि एमसीसी बोकाएको होइन ? यो कुरा बुझ्दैनौँ हामीले ? त्यसकारणले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि सौदाबाजी गरेर सत्ताधारीहरुले जुनखालको राष्ट्रघात गरिराखेका छन्, यसमा एमसीसी र बीआरआई बिचको अन्तर के हो ? त्यो नेपाली जनतालाई स्पष्ट पार्नुपर्छ ।’
अध्यक्ष केसीले नेपाललाई अमेरिकाको चीनविरोधी अखाडा बनाउन खोजिएको आरोप पनि लगाउनुभयो । उहाँले अमेरिकी षडयन्त्रप्रति नेपाली जनता सजग रहनुपर्ने बताउनुभयो ।
केसीले भन्नुभयो, ‘गुमराह गरेर एमसीसीको पक्षमा नेपाललाई दुर्घटनामा पार्ने र चीन विरोधी अखडा नेपाललाई अमेरिकाले गराउने षड्यन्त्रमा नेपाली जनता सजग हुनुपर्छ । बीआरआईको पैसाले हो २४ खर्ब नेपालीले ऋण लागेको टाउकोमा ? यसमा स्पष्ट पार्नुपर्छ । बीआरआईको माध्यमबाट नेपालमा जसरी चीन आउन खोजेको छ, एमसीसी र बीआरआईलाई एउटै काँटामा राखेर नेपाली जनतालाई अल्मल्याउन पाइँदैन ।’





