काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहालसित आफ्नै सहयोगीले समेत उपेक्षा गर्ने तपाईंको कमान्डिङ कस्तो हो भन्दै प्रश्न गर्नुभएको छ ।
२०८१ असार ९ गते आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उहाँले यस्तो प्रश्न गर्नुभएको हो ।
‘अस्ति प्रधानमन्त्रीले रोस्टमबाट बिलौना गर्नुभयो’ उहाँले भन्नुभयो– ‘प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्दाखेरि आफ्नै वरिष्ठ मन्त्रीहरू उपस्थिति नहुनु ? उहाँले वैराग व्यक्त गर्नुभयो ।’
अध्यक्ष केसीले यो कसका कारणले भयो यस्तो भन्दै प्रश्नसमेत उठाउनुभयो ।
उहाँले भन्नुभयो– ‘संसद्प्रति, लोकतन्त्रप्रति, गणतन्त्रप्रति स्वयम् आफ्ना सहयोगीले यति उपेक्षा गर्दाखेरी उहाँले ती सहयोगीहरूलाई कस्तो शिक्षादीक्षा दिनुहुन्छ ? उहाँले कस्तो कमान्डिङ गर्नुभएको छ ?’
बजेटको सन्दर्भमा भएको असमान वितरणको सन्दर्भमा पनि अध्यक्ष केसीले प्रश्न उठाउनुभयो ।
‘आफ्नै मन्त्रिमण्डलका मान्छेले कुनै जिल्लामा दशौँ अरब थुपार्दा अन्य जिल्लाका सांसदहरू रित्तो हात आफ्नो निर्वाचन क्षेत्रतिर जाँदाखेरी उहाँलाई कस्तो लाग्दो हो ?’ अध्यक्ष केसीले भन्नुभयो– ‘त्यसकारणले उहाँले जुन कुरा उठाउनुभयो, त्यो कुरा गम्भीर छ ।’