किभ । रुसले शनिबार देशको पश्चिम र दक्षिणका ऊर्जा पूर्वाधारमा रातारात ठुलो आक्रमण गरेको युक्रेनले बताएको छ ।
जापोरिझिया र लिभिभ क्षेत्रका (अपरेटर) युक्रेनेर्गो सुविधामा उपकरण क्षतिग्रस्त हुनुका साथै दुई कर्मचारी घाइते भई जापोरिझियामा अस्पतालमा भर्ना गरिएको ऊर्जा मन्त्रालयले जनाएको हो ।
योसँगै गत तीन महिनामा ऊर्जा पूर्वाधार सुविधामा आठौँ ठुलो संयुक्त आक्रमण भएको बताएको छ । रुसी आक्रमणको दुई वर्षभन्दा बढी, लक्षित मिसाइल र ड्रोन आक्रमणले युक्रेनको बिजुली उत्पादन क्षमतालाई कमजोर बनाई किभलाई युरोपियन युनियनबाट ऊर्जा आयात गरी आपूर्ति गर्न बाध्य पारेको छ ।
युक्रेनी अधिकारीले बिहीबार राति भएको आक्रमणमा पावर स्टेसनसहित ऊर्जा पूर्वाधार क्षतिग्रस्त हुनुका साथै सात जना कर्मचारी घाइते भएको बताएका छन् । युक्रेनको सबैभन्दा ठुलो निजी ऊर्जा कम्पनी डिटिइकेले आक्रमणले यसको एउटा कारखानामा गम्भीर क्षति भएको बताएको छ । (रासस/एएफपी)