काठमाडौँ । नेकपा (मसाल) ले राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीलाई अस्वस्थताका कारण जिम्मेवारीबाट हटाउनुपरेको स्पष्टीकरण दिएको छ ।
प्रवक्ता रामप्रकाश पुरीले २०८१ जेठ ३२ गते राती जारी स्पष्टीकरणमा सो जानकारी दिइएको हो ।
पूर्वसचिव पुरी गत एक वर्षदेखि ढाडको समस्याबाट पीडित हुँदै आएको र सो समस्याको उपचार लामो समय चल्ने भएकाले पुरीकै जानकारीअनुसार तत्काल छ महिनाको बिदा स्वीकृत गर्नुका साथै राजमो सचिवको जिम्मेवारीबाट हटाइएको स्पष्टीकरणमा उल्लेख छ ।
यस सम्बन्धमा सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी आएको सन्दर्भमा मसालले भनेको छ– “तिनले खालि भ्रम सिर्जना गरेर हाम्रो पार्टी विरुद्धको अभियानलाई मलजल पुर्याउने कोसिस मात्र गरेका छन् तर तिनको कुनै मूल्य नभएकाले त्यस प्रकारको भ्रममा नपर्न हामीले पार्टीका सम्पूर्ण सदस्य र आम जनतालाई स्पष्ट गर्दछौँ ।”
यस्तो छ, स्पष्टीकरणको पूर्ण पाठ :
“का. हिमलाल पुरीबारे सार्वजनिक रूपमा पैदा भएको भ्रमबारे स्पष्ट गर्नका लागि यो स्पष्टीकरण जारी गरिएको छ ।
का. हिमलाल पुरी राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिव हुनुहुन्थ्यो । उहाँले इमानदारीपूर्वक नेपालको कम्युनिस्ट आन्दोलनमा निरन्तर कार्यरत रहेर योगदान दिँदै आउनुभएको छ । उहाँ योग्य, बौद्धिक र अनुशासित चरित्र र विशेषता भएको नेता भएको सबैलाई थाहा भएको कुरा हो । त्यसरी नै जिम्मेवारी बहन गरिरहेकै अवस्थामा उहाँ गत १ वर्षदेखि ढाडसम्बन्धी समस्याबाट पीडित हुँदै आउनुभएको छ । अहिले उहाँ त्यसको लामो उपचारको प्रक्रियामा हुनुहुन्छ । त्यसरी उपचारको कार्य अलि लामो समयसम्म हुने भएकाले पार्टीको कुनै जिम्मेवारीमा रहेर त्यसलाई पूरा गर्न नसकिने हुँदा अहिले जिम्मेवारीबाट हट्नुपर्ने आवश्यकता भएको कुरा उहाँ स्वयम्ले पार्टीलाई जानकारी गराउनुभएपछि उहाँ र पार्टीबिच आपसी सल्लाहका आधारमा उहाँलाई अहिले सबै जिम्मेवारीबाट हटाउनुपरेको हो ।
अहिले उपचारको लागि उहाँलाई छ महिनाको बिदा स्वीकृत गरिएको छ र त्यो अवधिपछि उहाँको स्वास्थ्य समस्याको स्थितिमा सुधार हुने छ भन्ने हामीलाई आशा छ तर त्यसरी उहाँको स्वास्थ्य समस्यामा अझैँ लामो उपचारको प्रक्रिय बढाउनुपर्ने भएमा पुनः उपचारको प्रक्रियालाई निरन्तरता दिइने छ ।
यसरी आफ्नो स्वास्थ्यका कारण पार्टीको कुनै जिम्मेवारी पूरा गर्न असमर्थ भएमा ती जिम्मेवारीबाट हटेर पार्टीका कामलाई अगाडि बढाउनका लागि मार्गप्रशस्त गर्न सक्नु उच्च र सर्वहारावर्गीय दृष्टिकोण हो । का. हिमलाल पुरीले त्यही स्प्रिट प्रस्तुत गर्नुभएको छ । हामीले उहाँको त्यस प्रकारको स्प्रिटको उच्च सम्मान गर्दछौँ र उहाँको सुस्वास्थ्यको कामना गर्नुका साथै उहाँको स्वास्थ्य स्थितिमा सुधार ल्याउन हामीले पूरा प्रयत्न गर्ने छौँ ।
यो अवस्थामा का. हिमलाल पुरीबारे अहिले सामाजिक सञ्जालमा प्रसारित विभिन्न नकारात्मक टिप्पणीको कुनै औचित्य छैन । तिनले खालि भ्रम सिर्जना गरेर हाम्रो पार्टी विरुद्धको अभियानलाई मलजल पुर्याउने कोसिस मात्र गरेका छन् तर तिनको कुनै मूल्य नभएकाले त्यस प्रकारको भ्रममा नपर्न हामीले पार्टीका सम्पूर्ण सदस्य र आम जनतालाई स्पष्ट गर्दछौँ ।”





