शिव पन्थी, खलङ्गा ।
राष्ट्रिय जनमोर्चाले देशव्यापी रूपमा सञ्चालन गरेको गणतन्त्र र राष्ट्रियताको रक्षा तथा संघीयताको खारेजी अभियानअन्तर्गत प्युठानमा विरोध प्रदर्शन भएको छ । सोमबार स्वर्गद्वारी गनरपालिकामा राजमोले विरोधसभा सम्पन्न गरेको हो ।
राजमो स्वर्गद्वारी नगर समितिले आयोजना गरेको उक्त सभालाई प्रमुख अतिथिको आसनबाट राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाको विचार महान् र शक्तिशाली भएको बताउनुभयो ।
उहाँले राष्ट्रियताको मुद्दामा राष्ट्रिय जनमोर्चाले मात्रै इमान्दारिपूर्वक जनताको आवाज निरन्तर उठाइरहेको बताउनुभयो ।

नेता थापाले भन्नुभयो– ‘देश फेरि नयाँ प्रकारको सङ्कटमा परेको जिकिर गर्नुका साथै राजमोले मात्र देशले कुन मोड लिँदै छ भन्ने कुरा पहिले नै भविश्यबाणी गर्ने गर्छ । पछि व्यवहारले त्यही विश्लेषण सही भएको प्रमाणित गर्ने गरेको कुरा आज इतिहासले बताइरहेको हुन्छ ।’
सम्बोधनको क्रममा उहाँले अहिलेको प्रतिगमन २०५९ सालको भन्दा धेरै खतरा रहेको बताउनुभयो ।
त्यस्तै, राजमो प्युठान जिल्ला उपाध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य इमानसिंह खड्का, अखिल नेपाल महिला सङ्घकी सरिता जिसी र अखिल नेपाल किसान महासङ्घका जिल्ला सदस्य यमप्रसाद शर्माले पनि सम्बोधन गर्नुभएको थियो ।
गङ्गाराम बिसीको सञ्चालनबाट अघि बढेको कार्यक्रमको अध्यक्षता इन्द्रबहादुर खड्काले गर्नुभएको थियो भने गिरबहादुर गुरुङले स्वागत गर्नुभएको थियो ।





