काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन्।
संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभा उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट अर्यालको मात्रै उम्मेदवारी परेको थियो।
माओवादी केन्द्रकी स्थायी समिति सदस्य उनलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्विरोध निर्वाचित भएको घोषणा गरे।
माओवादी केन्द्रकी स्थायी समिति सदस्य उनलाई नेपाली कांग्रेसले पनि साथ दिँदै उम्मेदवारी नदिएपछि निर्विरोध निर्वाचित हुने बाटो खुलेको थियो।
उनलाई राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित गराइयोस् भन्ने प्रस्ताव उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए।
उक्त प्रस्तावमा नेकपा एमालेका देवेन्द्र दाहाल र अर्का सांसद खिमलाल देवकोटाले समर्थन गरेका थिए।
राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रको १५ सांसद छन्। यस्तै, नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी) का आठ, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन्।