काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले राष्ट्रपतिबाट प्राप्त पत्र गलत भए संसदमा च्यातेर देखाउन चुनौती दिनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले संविधान बमोजिम नै राष्ट्रपतिले नागरिकता विधेयक सदनमा पुनः सुधार्नका लागि पठाएको बताउनुभयो । उहाँले यदी राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकको पत्र गलत भए च्यातेर देखाउन सत्तारुढ दलका सांसदहरुलाई चुनौती दिनुभएको हो ।
उहाँले भन्नुभयो, ‘संविधान बमोजिम राष्ट्रपतिले पठाउनु भयो। यसमा प्रश्न उठाउने? मिल्छ त्यो? कि त भन्नुपर्छ। संविधानको यो नियमअनुसार गल्ती छ भने यो पत्र च्यातेर देखाउनुस् न सक्नुहुन्छ? त्यो त सक्नुहुँदैन। गलत तरिकाले पास नगरौँ।’
बास्कोटाले नागरिकतालाई सस्तो नबनाउन संसदको ध्यानाकर्षण गराउनुभयो । विश्वका अधिकांश देशमा नागरिकलाई सस्तो बनाउने कुरा नरहेको उल्लेख गर्दै छिमेकी देशहरुबाट सिकेर भएपनि नागरिकताको विषयमा गम्भीर छलफल हुन आवश्यक रहेको बताउनुभयो हतार हतारमा नागरिकता विधेयक ल्याउनु गलत भएको बास्कोटाको भनाई थियो ।
नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने भन्दै सांसद बास्कोटाले नागरिकता भेग, क्षेत्र, अनुहारको रङ र लिङ्ग हेरेर दिने कुरो नरहेको स्पष्ट पार्नुभयो ।