काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौं आईपुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको नियन्त्रणमा बंगलादेशका समकक्षी हमिद नेपालको चार दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं आई पुगेका हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गरेकी थिइन् । बंगलादेशका राष्ट्रपति हमिदको स्वागत गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलगायतका मन्त्रीहरु पनि विमानस्थल पुगेका थिए । त्यस अवसरमा राष्ट्रपति हमिदलाई ‘गार्ड अफ अनर’ को सम्मान पनि प्रदान गरिएको थियो भने नेपालको संस्कृति झल्कने खालका सांस्कृतिक प्रर्दशन पनि गरिएको थियो ।
राष्ट्रपति हमिदले बुधबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । उनले बुधबार राष्ट्रपति विद्या भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्नेछन् । उनले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, परराष्ट्रमन्त्री ज्ञवाली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति हमिदले नेपालको राजकीय भ्रमणका क्रममा मंगलबार अपरान्ह भक्तपुरस्थित विश्व सम्पदा सूचिमा रहेका ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रहरुको अवलोकन गर्नुहुनेछ भने बिहीबार पर्यटकीय नगरी पोखराको पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्नेछन् । शुक्रबार काठमाडौंको चन्द्रागिरीको अवलोकन गरेपछि अपरान्ह स्वदेश फर्कने कार्यक्रम छ ।