काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार नेपाल आउँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति हमिदले भोलिदेखि यही कात्तिक २९ गतेसम्म नेपालको चार दिवसीय औपचारिक भ्रमण गर्दैछन् ।
५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउन लागेका राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । बंगलादेशका राष्ट्रपतिसँग राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्।
भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ। राष्ट्रपति भण्डारीले आफ्ना बंगलादेशी समकक्षीको सम्मानमा सोही दिन साँझ राजकीय भोज आयोजना गर्नेछिन् ।
राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नेछन् । नेपाल बसाइका बेला बंगलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरीको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
रिङरोडमा चार दिन मालवाहक गाडी बन्द
राष्ट्रपति हमिदको औपचारिक भ्रमणलाई ध्यानमा राखी महानगरीय ट्राफिक प्रहरी महाशाखाले रिङरोडभित्र मंगलबारदेखि चार दिन (२६–२९ गते) मालवाहक सवारीसाधन चलाउनमा रोक लगाएको छ ।
त्यस्तै, महाशाखाले वैकल्पिक मार्ग अपनाउनसमेत आग्रह गरेको छ । अनावश्यक हर्नको प्रयोग नगर्न महाशाखाले जनाएको छ ।