बुटवल । चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता आजदेखि बुटवलमा शुरु भएको छ । सयपत्री युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको मंगलबार प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गरे ।
उद्घाटन खेलमा सयपत्री युवा क्लबले नवलपरासी–११ लाई टाईबेकरमा ४–२ गोलले पराजित गर्यो । रामनगर खेलमैदानमा भएको उक्त खेलको १५औँ मिनेटमा नवलपरासीका रोहित थारुले गोल गरेका थिए । सयपत्रीका योङ दोर्जेले खेलको २१औँ गोल गरी बराबरी गरे । सयपत्रीका दोर्जे म्यान अफ दी म्याच भए ।
प्रतियोगिताको विजेताले रु दुई लाख दुई हजार २२२ र उपविजेताले रु एक लाख एक हजार १११ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष कमल रानाले जानकारी दिए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा नवलपरासी–११, आयोजक सयपत्री युवा क्लब, पाल्पा–११, फर्साटिकर युवा क्लब, पाच नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, अभिषेक चर्च रहजर, सुनौलो सङ्गम युवा क्लब देवीनगर, लिस्नु युवा क्लब कोटिहवा, चितवन–११, सिम्रिक युवा क्लब कालिकानगर, सिद्धार्थ युवा क्लब बासगढी र भैरव देशभक्त युवा क्लब नवलपरासी सहभागी छन् ।
बुधबार सुनौलो सङ्गम युवा क्लब देवीनगर र पाच नम्बर प्रदेश प्रहरी तालिम केन्द्रबीच खेल हुनेछ । प्रतियोगिता कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।