काठमाडौँ । अखिल नेपाल किसान महासङ्घले तराई–मधेश जनवादी मोर्चासँगको सहकार्यमा तराई–मधेशमा किसान सङ्गठन अभियान सञ्चालन गर्ने भएको छ । किसान महासङ्घ र तराई–मधेश जनवादी मोर्चाले २०७६ माघ महिनाभरि सो अभियान चलाउने भएका हुन् ।
किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा २०७६ कार्तिक १९ गते जारी प्रेस विज्ञप्तीमा सो जानकारी दिइएको छ । किसान महासङ्घले तराई–मधेशको किसान सङ्गठन अभियानको विस्तृत कार्यक्रम बनाउन आगामी मङ्सिर २० गते कपिलवस्तुमा तराई–मधेश जनवादी मोर्चासँग संयुक्त बैठकसमेत बस्ने भएको छ ।
किसान महासङ्घअन्तर्गतका विभिन्न वस्तुगत तथा पेशागत सङ्गठनको भेला तथा विश्व किसान सम्मेलनको बारेमा समेत जानकारी दिइएको सो वक्तव्यमा अगाडि भनिएको छ:
“यही २०७६ कार्तिक १८ गते अखिल नेपाल किसान महासङ्घ केन्द्रीय सचिवालयको विस्तारित बैठक बस्यो । बैठकमा विभिन्न निर्णयहरू गरी सार्वजनिक जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ ।
१. किसानका समस्याको समाधानका लागि सङ्गठनात्मक सुदृढीकरण र सङ्घर्षलाई अगाडि बढाउन निम्नानुसार सङ्गठनात्मक र सङ्घर्षका कार्यक्रम अगाडि बढाउने निर्णय गरिएका छन् ।
(क) २०७६ माघ महिनामा तराई–मधेश क्षेत्रमा किसानको समस्या पहिचान गरी उनीहरूलाई सङ्गठित गर्न र सङ्घर्षको अधार तयार पार्न माघ महिनाभरि तराई–मधेश अभियान सञ्चालन गर्न तराई–मधेश जनवादी मोर्चासँगको संयुक्त बैठक यही मङ्सिर २० गते कपिलवस्तुमा बस्ने निर्णय भएको छ । त्यो बैठकले संयुक्त रूपमा माघ महिनाभर सङ्गठन अभियान सञ्चालन गर्न आवश्यक कार्यक्रम बनाउने छ ।
(ख) २०७६ कार्तिक २० गते दाङको भालुवाङमा हुने ५ नं. प्रदेशस्तरीय भेलालाई सम्पन्न गर्न आवश्यक निर्णय गरिएका छन् ।
(ग) अखिल नेपाल किसान महासङ्घअन्तर्गत तरकारी, फलफूल तथा बिउबिजन व्यवसायी सङ्गठनको राष्ट्रिय भेला यही मङ्सिर १३ गते चितवनमा गर्ने निर्णयअनुसार यसको आवश्यक तयारीका लागि निर्णय गरिएका छन् । त्यसैगरी दुग्ध तथा पशुपालन व्यावसायिक किसानको राष्ट्रिय भेला मङ्सिर ६ गते बुटवलमा हुने भएको छ र त्यसको तयारीका लागि विभिन्न निर्णय गरिएका छन् ।
(घ) सुकुम्वासीको सङ्गठनलाई अगाडि बढाउन त्यसको राष्ट्रिय भेला मङ्सिर २१ गते कपिलवस्तुमा सञ्चालन गर्ने निर्णय गरिएको छ ।
२. किसानको समस्या पहिचान किसानकै घरदैलोमा गर्ने, उनीहरूलाई सङ्गठित गर्ने र सङ्घर्षको आधार तयार पार्न अखिल नेपाल किसान महासङ्घअन्तर्गत ५ नं. प्रदेश स्तरीय ‘किसान मार्च’ २०७६ चैत्र महिनादेखि सञ्चालन गर्ने निर्णय गरिएको छ । त्यसलाई सफल पार्न आवश्यक तयारीका लागि यही पौष १५ गते बुटवलमा राष्ट्रिय भेला गर्ने निर्णय गरिएको छ ।
३. किसानको समस्या र भू उपयोग नीतिबारे स्थलगत अध्ययन र अनुसन्धानका लागि भैरवराज रेग्मीको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको छ । समितिमा कृष्ण केसी, शिव पौडेल, प्रेमनारायण आचार्य, तुलसीराम सापकोटा रहनुभएको छ ।
४. बङ्गलादेशको ढाकामा हुने दोस्रो विश्व किसान सम्मेलन २०२० को फेब्रुअरीको सट्टा २०२० को डिसेम्बर वा २०२१ को जनवरीमा सरेको छ । त्यसको आवश्यक तयारीका लागि भएको कलकत्ताको कोअर्डिनेशन कमिटीको बैठकको रिपोर्टिङ भयो र त्यसको आवश्यक तयारीबारे पनि छलफल गरियो ।
५. किसानको संयुक्त आन्दोलन सञ्चालनको तयारीबारे आवश्यक निर्णय लिइएका छन् ।”