दाङ । राष्ट्रिय जनमोर्चाले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा तथा सङ्घीयता र भ्रष्टाचारको विरुद्धमा कार्यक्रम गर्ने भएको छ ।
केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीको प्रमुख आतिथ्यमा २०८१ साउन २७ गते बसेको बैठकले सो निर्णय गरेको हो ।
जिल्ला अध्यक्ष गणेश आचार्यको हस्ताक्षरमा साउन २८ गते सोमबार जारी प्रेसविज्ञप्तिका अनुसार भदौ २७ गते लमहीमा र भदौ ३० गते राप्ती गाउँपालिकामा “गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा तथा भ्रष्टाचारको विरोध र सङ्घीयताको खारेजीको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
त्यस्तै, सोही विषयलाई लिएर भदौ २८ गते दाङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय भएको जानकारी दिइएको छ ।
प्रेसवक्तव्यमा जिल्ला समितिको रिक्त स्थानमा मेघराज भट्टराई, वैकल्पिक सदस्यमा गिरबहादुर पौडेललाई तथा सल्लाहकारमा मिनु सुवेदीलाई नियुक्त गरिएको उल्लेख छ ।
तुलसीपुर, बङ्गलाचुली, लमही, राप्ती, गढवा र राजापुरमा घनीभूत सङ्गठनात्मक अभियान सञ्चालन गर्ने जानकारी दिँदै विज्ञप्तिमा त्यसका लागि गणेश आचार्य, महेश रिजाल, वसन्तराज पौडेल, शुक्रराज भण्डारी, हरि खरेल, केशवराज खनाल र दिनमणि आचार्यलाई जिम्मा दिइएको छ ।
