टेकराज भुसाल, बुटवल ।
बुटवल । ढाकाबाङ–रुपन्देही सम्पर्क समाज र नेपाल स्वयम्सेवी रक्तदाता समाज जिल्ला शाखा रुपन्देहीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
ढाकाबाङ–रुपन्देही सम्पर्क समाजको प्रथम स्थापना दिवसको अवसर पारेर २०८१ साउन २६ गते शनिबार रुपन्देहीको बुटवलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
५० जनाले रक्तदान गरेको सो कार्यक्रमको एक समारोहका बिच नेपाल चिकित्सक सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष डा. कृष्ण खरेलले उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै डा. खरेलले रगत अभाव के हो भन्ने आफूलाई राम्रो अनुभव भएको बताए ।
‘मेरो परिवारमा परेको पीडाले मलाई अहिले पनि झक्झकाउँछ’ उनले भने ।
काठमाडौँमा उपचारका क्रममा बुबालाई एक जना विदेशी रक्तदाताको सहयोगमा उपचार गरेको स्मरण गर्दै उनले यही कुराको प्रेरणा मिलेर आफू अध्ययनको क्रममा बङ्गलादेशमा रेयर ब्लड ग्रुप समूह गठन गरेर रक्तदान गरेको बताए ।
रगतको आयु ९० दिन हुने हुँदा पनि एउटा स्वास्थ मानिसले यो अवधिमा रगत दिन सक्ने भन्दै उनले पछिल्लो समय चिकित्सक पेसामा सुरक्षाभन्दा पनि सुपर सुरक्षाको अप्नाउनुपर्ने स्थिति आएको दुखेसो गरे ।
नेपाल स्वयम्सेवी रक्तदाता समाज रुपन्देहीको अध्यक्ष कृष्ण चौहान क्षेत्रीले ११ वर्ष ५ महिनादेखि निरन्तर शनिबार रक्तदान अभियान चलाएको बताए ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाका सभापति कृष्णप्रसाद भट्टराईले रक्तदान बढ्दा पनि रगतको अभाव देखिनु गम्भीर अवस्था सृजना भएको भन्दै यसको छिटो विकल्प खोजिनुपर्ने सुझाव दिए ।
कार्यक्रममा ढाकावाङ–रुपन्देही सम्पर्क समाजका अध्यक्ष कृष्णप्रसाद खनाल, संयोजक जानकी नेपाल, सचिव अर्जुन पौडेलले समाजमा अझै पनि रक्तदानको महत्त्व बुझाउने गरि अभियान चलाउनुपर्ने अवस्था देखिएको बताए ।