काठमाडौं । बल्खु खोलाको बाढीले बगाउँदा काठमाडौँमा एकजनाको मृत्यु भएको छ।
प्रहरीले बल्खु पुलमुनि अड्किएको अवस्थामा एक शव फेला पारेको हो। उक्त शव बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको भएको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका महतोको बाढीमा परी मृत्यु भएको हो।
मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको मैनालीले बताए।
काठमाडौँ उपत्यकामा गए राति मुसलधारे वर्षा भएपछि बाग्मती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबिखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खुखोलालगायत सबैमा जलसतहले खतराको तह पार गरेको थियो।
बाढी खोलाकिनारको सडकसम्म पसेको र कतिपय बस्ती डुबानमा परेका प्रवक्ता मैनालीले जानकारी दिए।
डुबानमा फसेका ७५ जनाको उद्धार
अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन्। जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार गए रातिको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–९ स्थित च्यासल फुटबल मैदान जलमग्न भएको छ।

मङ्गलबार राति परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेको तल्लो बस्तीस्थित एक पसलमा पसेको बाढी । तस्बिर : रासस
बाढीको चपेटामा परेका तीन बालक, आठ महिला र १३ पुरूष गरी विभिन्न स्थानबाट २४ जनाको उद्धार भएको र अझै उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ ।
ललितपुर महानगरपालिका–२ सानेपा, वडा नं ९ शङ्खमुल, वडा नं १ कुपण्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ।
महालक्ष्मी नगरपालिका–९ लाकुरीभञ्ज्याङको सिस्नेखर्कमा पहिरो खस्दा काभ्रेपलाञ्चोकतर्फ जाने सडक अवरूद्ध भएको छ। बाढीका कारण गोदावरी नगरपालिका–१ दमाइटार सातथलीमा खड्कनन्द दाहालले सञ्चालन गरेको फार्मका चार सय कुखुरा मरेका छन्।
बाढीकै कारण महालक्ष्मी नगरपालिका–८ लुभुको तल्लो चौतारास्थित पिपलको बोट ढलेर सडक अवरुद्ध भएको छ।
यसैगरी, पहिरोले बागमती गाउँपालिका–३ पाङ्दुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकमार्ग पूर्ण रूपमा अवरुद्ध भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतले जानकारी दिए।
काठमाडौँ उपत्यकामा बुधबार (आज) बिहान बाढी र डुबानमा परेका ७५ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

मङ्गलबार राति परेको अविरल वर्षाका कारण कमेरोटार जग्गा एकीकरण आयोजनाको माथिल्लो बस्ती र मध्यपुरथिमि नगरपालिकाले मिसाएको बोडे, बाहखा र सिण्टिटारको बस्तीको ढल फुटेर बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे संगम कोलोनीमा डुबानमा परेको सडक। तस्बिर : रासस
काठमाडौँ महानगरका प्रहरी निरीक्षक प्रकाश पण्डितका अनुसार सानोभर्याङको अन्नपूर्णचोकस्थित सोनाखरी पाठशालाको होस्टेलमा पानी पसेपछि ७० बालबालिकालाई सुरक्षित स्थानमा सारिएको हो।
यसैगरी बल्खु चोकबाट कीर्तिपुर जाने बाटोको बागमती नदी किनारमा रहेका घरहरूबाट ४ जना उद्धार गरिएको छ । प्रहरीका अनुसार बागमती खोलो बस्तीमा पसेपछि त्यहाँ ६ वटा घरको एक तलासम्म पानी जमेको छ।
यस्तै नयाँ बसपार्कनेर विष्णुमती नदीको बाढीमा फसेका एक जना पुरुष व्यक्तिलाई पनि प्रहरीले उद्धार गरेको उनले जानकारी दिए।
उद्धारमा महानगर प्रहरीसहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरी संयुक्त रूपमा खटिएका छन्।





