काठमाडौँ । समाचार सङ्कलनका क्रममा पोखरामा पत्रकारद्वय बिना थापा र सुरज थापामाथि सार्वजनिक यातायातका चालकहरूले कुटपिट गरेका छन् ।
आन्दोलनरत चालकले पत्रकारको स्कुटरसमेत तोडफोड गरेको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।
महासङ्घ कास्की शाखाका अनुसार पोखराको पृथ्वीचोकमा राइड सेयरिङ विरुद्ध सार्वजनिक सवारीका चालक र सहचालकले थालेको आन्दोलनको समाचार सङ्कलनका क्रममा रहेका पत्रकारद्वयमाथि आन्दोलनरत चालकले दुर्व्यवहार र कुटपिट गर्नुका साथै पत्रकारको ग २० प ३९७३ नम्बरको स्कुटरसमेत तोडफोड गरेका छन्।
महासङ्घले २०८१ साउन १३ गते आइतबार विज्ञप्ति प्रकाशित गरी सो घटनाको निन्दा गरेको छ ।
महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– “नागरिकलाई सुसूचित गराउन तथा आन्दोलनरत पक्षको मागसमेतलाई सम्बन्धित निकायमा पुर्याउन भूमिका खेल्ने पत्रकारमाथि भएको कुटपिट र तोडफोडको यो घटना अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको प्रहार हो ।”
महासङ्घले प्रेस स्वतन्त्रतामाथि प्रहार गर्नेको तत्काल पहिचान गरी कानुनी दायरमा ल्याउन र क्षतिको क्षतिपूर्ति दिलाई पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासनसँग माग गरेको छ ।