काठमाडौँ । जबर्जस्ती करणी मुद्दाकी पीडित गौशाला–२६ ले सरकारी वकिलको कार्यालयलाई पत्र पठाएर सन्दीप लामिछाने विरुद्धको मुद्दा अघि नबढाउन आग्रह गरेकी छन् ।
उच्च अदालत पाटनले प्रतिवादी लामिछानेलाई सफाइ दिएपछि गौशाला २६ ले ‘मुद्दाको थप कारबाही अगाडि बढाउनुनपर्ने’ भन्दै निवेदन दिएकी हुन् ।
उनले मुद्दाको पेसीले आफू थकित र गलित भएको बताएकी छन् ।
उनले भनेकी छन्– ‘हरेक हप्ताको मुद्दा पेसीले म यति थाकिसकेँ कि जिन्दगीले मलाई कहाँ लाँदै छ भन्ने पनि थाहा छैन ।’
आफूलाई हरेक दिन मारेर लडाइँ अगाडि बढाउन नसक्ने उनले पत्रमा उल्लेख गरेकी छन् ।
‘अब म बाँच्न चाहन्छु त्रासरहित जिन्दगी, जहाँ मैले मेरो परिचय लुकाउनु नपरोस्’ उनले भनेकी छिन्– ‘मान्छे बाँच्नको लागि पो लड्छ, आफूलाई हरेक दिन मारेर लडेको लडाइँ के लडाइँ ?’
निवेदनमा उनले लामिछानेलाई सफाइ दिइएको आधारसहितको फैसलाको पूर्णपाठ अध्ययन गरेको भन्दै भनेकी छन्– ‘यस मुद्दा दर्ता भएलगत्तैदेखि मेरो मानसिक एवम् सामाजिक जीवनमा परेको अतुलनीय असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्धको भ्रमपूर्ण खबर र ममाथि दबाब फैलाउँदै आएका थिए ।’
लामो समयदेखि यो घटनाका कारण आफू त्रासपूर्ण जीवन बाँच्दै आएको भन्दै उनले भनेकी छन्– ‘सम्मानित अदालतले आफ्नो फैसलामा लिएका आधारलाई सम्मान गर्दै आफ्नो त्रासरहित एवम् शान्तिपूर्ण जीवन जिउनु नै मेरो प्राथमिकता रहेकाले प्रस्तुत मुद्दाको कारबाही अगाडि नबढाउनु हुन निवेदन गर्दछु ।’
लामिछाने विरुद्ध प्रहरी वृत्त गौशालामा २०७९ भदौ २१ गते जबर्जस्ती करणीको कसुरमा किटानी जाहेरी दर्ता भएको थियो । त्यस बेला उनी क्यारेबियन प्रिमियर लिग (सी.पी.एल.) खेल्न जमैकामा थिए । केही दिनमै नेपाल फर्किने बताए पनि उनी एक महिनासम्म फरार रहे, इन्टरपोलमा रेड नोटिस जारी भएपछि बल्ल नेपाल फर्किएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै २०७९ असोज २० गते पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत काठमाडौँले २०८० पुस १३ गते दोषी ठहर गर्दै आठ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना हुने आदेश सुनाएको थियो तर त्यस विरुद्ध लामिछाने पक्षले उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो । उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले २०८१ जेठ २ गते उनलाई सफाइ दिएको थियो ।





