गोपालप्रसाद भट्टराई, नुवाकोट (अर्घाखाँची) ।
नेपाल कम्युनिस्ट पार्टी (मसाल) को पार्टी सदस्य यमकला बन्जाडे ‘झरना’ को दाहसंस्कार गरिएको छ ।
अर्घाखाँचीको भूमिकास्थान–४ धारापानी घर भई हाल सन्धिखर्क बस्दै राष्ट्रिय जनमोर्चा र मसालका विभिन्न तहमा रहेर कम्युनिस्ट आन्दोलनमा सक्रिय भूमिका खेल्नुभएकी यमकलाको २०८१ साउन ८ गते हृदयघात भई निधन भएपछि साउन ९ गते बुधबार दाहसंस्कार गरिएको हो ।

विद्यार्थी जीवनदेखि अखिल (छैठौं) मा सङ्गठित भई अखिल नेपाल महिला सङ्घ, राजमो हुँदै मसालको पार्टीसदस्य भएर सङ्गठनमा काम गर्दै आउनुभएकी यमकलालाई ४९ वर्षको उमेरमा अकस्मात हृदयघात भई उपचारका लागि अस्पताल पुर्याउँदाबित्तिकै डाक्टरले मृत घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।
वामपन्थी विचारधाराबाट अगाडि बढ्नुभएकी यमकला बन्जाडे पार्टी काम र आन्दोलन मात्र नभई सामाजिक काममा समेत सक्रिय हुनुहुन्थ्यो । त्रिवेणी बचत तथा ऋण सहकारीको उपाध्यक्ष, जिल्ला वचत तथा ऋण सहकारी सङ्घको कोषाध्यक्ष हुँदै महिला स्वास्थ्य स्वयम्सेविका, नेपाल रेडक्रस जस्ता दर्जनौँ सङ्घसंस्थामा रहेर सामाजिक सेवा गर्दै आउनुभएकी यमकला बन्जाडेको अल्पआयुमै अकल्पनीय निधन भएपछि सिङ्गो जिल्ला नै शोकमा परेको छ ।

स्मृतिशेष बन्जाडेको सम्मानमा अन्तिम दाहसंस्कार राजमो नेता शेरबहादुर बिसीले उहाँको पार्थिव शरीरमा कम्युनिस्ट पार्टीको झन्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आयोजना गरेको शोकसभामा बोल्दै नेता बिसीले पार्टीले एक अनुशासित र प्रतिबद्ध सदस्यलाई गुमाउनुपर्दा अपुरणीय क्षति बेहोर्नु परेको बताउनुभयो ।
नेता बिसीले मसालको सिद्धान्त र दर्शनप्रति सधैँ प्रतिबद्ध रहनुभएको स्मरण गर्नुभएको छ ।

उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन राजमो केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरप्रमुख झविलाल थापा, नगरउपप्रमुख बालकृष्ण बन्जाडे, राजमो केन्द्रीय सदस्य सागर केसी, जिल्ला अध्यक्ष थम्मन केसीसहित अन्य दलका प्रतिनिधि, सहकारीका पदाधिकारी, आफन्तजन, शुभचिन्तकको उपस्थिति रहेको थियो ।
परिवार नै राजमोमा आबद्ध रहंदै आएको उहाँको परिवारमा पति शिव र दुई भाई छोराहरू मोहन बन्जाडे र कपिल बन्जाडे हुनुहुन्छ ।