काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना पाँच जना व्यक्तिलाई अमेरिका पठाउन दूतावासमा पत्र लेखेपछि विवादमा तानिएकी छन् ।
केही समयअघि आफू एउटा कार्यक्रममा अमेरिका जान लाग्दा अन्य पाँचजना व्यक्तिलाई समेत सँगै लैजान अमेरिकी दूतावासलाई पत्र लेखेको खुलेपछि उनी विवादमा परेकी हुन् ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यो विषय छताछुल्ल भएपछि उपसभामुख रानाले आफूबारे अमेरिकी दूतावाससँग जोडेर आएका समाचारबारे ध्यानाकर्षण भएको जनाएकी छन् ।
शुक्रबार विज्ञप्ति जारी गर्दै उपसभामुख रानाले सन् २०२३ मार्च महिनामा यूएन सीएसडब्लू सम्मेलनमा जानेहरू कसैको पनि भिसाका लागि अनुरोध नगरेको दाबी गरेकी छिन्।
उक्त कार्यक्रममा आफ्ना सहयोगी समेत हुने भएकाले अन्तर्वार्ताका लागि अनुरोध गरेको कारण आफूले अमेरिकी दूतावासलाई अन्तर्वार्ताका लागि मिति राख्न मात्रै अनुरोध गरेको उनले बताएकी छिन्।
‘उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिईदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासलाई अन्तर्वार्ताको लागी मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ,’ रानाले उल्लेख गरेकी छिन्, ‘कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ। मैले कसैको भिसाको लागि अनुरोध पनि गरेकी छैन। हैन।’
उपसभामुख रानाले दूतावासमा अन्तर्वार्ताका लागि विभिन्न व्यक्तिको नाम उल्लेख गर्दै लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा परेकी थिइन्।
उपसभामुख रानाले आफ्नो टोलीको सदस्य भन्दै ५ जनाको अन्तर्वार्ताको समय अगाडि सारिदिन काठमाडौँस्थित अमेरिकी दूतावाससँग ताकेता गरेको पाइएको थियो।
यस्तो छ उनले अमेरिकी दूतावासलाई लेखेको पत्र

रानाले शुक्रकार प्रकाशित गरेको खण्डन






