काठमाडौं । बंगलादेशमा आन्दोलनरत विद्यार्थीहरूले सरकारी टेलिभिजन बीटीभीको कार्यालयमा आगजनी गरेका छन् । हजारौँ प्रदर्शनकारीहरूले बिहीवार साँझ सरकारी टेलिभिजनमा प्रवेश गरेर आगो लगाइदिएका हुन् ।
उनीहरूले त्यहाँ फर्निचरहरूसहित झ्याल र बत्तीहरू तोडफोड गर्नुका साथै केही भागमा आगो पनि लगाइदिएका बीबीसीले जनाएको छ ।
बाङ्ग्लादेशका सूचना तथा सञ्चारमन्त्रीले बीबीसीलाई सरकारी टेलिभिजनको प्रसारण रोकिएको र अधिकांश कर्मचारीले राजधानी ढाकास्थित उक्त भवन छाडिसकेको बताए।
त्यसअघि आफ्नो आधिकारिक फेसबुक पेजमा एउटा पोस्ट लेख्दै बीटीभीले आफ्नो भवनभित्र धेरै कर्मचारीहरू फसेको भन्दै दमकल सेवालाई आगो निभाउन मद्दतका लागि अपिल गरेको थियो।
प्रधानमन्त्री शेख हसिना बुधवार राति टेलिभिजनमा देखा परेर सबैलाई शान्त रहन आग्रह गरेकी थिइन्।
केही दिनदेखि आरक्षणको विरोधमा बंगलादेशमा जारी हिंसामा कम्तीमा २५ जनाको ज्यान गएको र सयौँ घाइते भएको बताइएको छ।
सरकारी जागरिमा सन् १९७१ मा देशलाई पाकिस्तानबाट स्वतन्त्र बनाउने सङ्घर्षमा लडेका मानिसका सन्तानका लागि गरिएको आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले ठाउँठाउँमा र्याली गर्दै आएका थिए।
बंगलादेशमा केही सरकारी पदहरू महिला, जातीय अल्पसङ्ख्यक र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि पनि आरक्षित गर्ने व्यवस्था छ।
त्यहाँ एकतिहाइ पदहरू युद्धको समयका नायकहरू भनी वर्गीकृत गरिएका मानिसका सन्तानका लागि छुट्ट्याइने गरेको छ।
योग्यताका आधारमा सरकारी रोजगारीमा भर्ना लिने प्रक्रिया लागू गर्नुपर्ने भन्दै विद्यार्थीले यो अहिलेको व्यवस्था भेदभावपूर्ण रहेको बताइरहेका छन्।





