काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले युवाहरूलाई विदेश पठाएर रेमिट्यान्सको भरमा देश चलाउन खोज्नु शासकहरूको नालायकीपन भएको बताउनुभएको छ ।
शनिबार (असार २९ गते) अखिल नेपाल युवक संघ, काठमाडौं जिल्ला समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेता शर्माले अब युवाहरूलाई देशभित्रै रोजगार सिर्जना गर्ने वातावरण बनाउन संघर्ष गर्नुपर्ने बताउनुभयो ।
‘युवाहरूलाई विदेश पठाउने र उनीहरूले पठाएको रेमिट्यान्सले देश चलाउने शासकको चरित्र बदल्न आवश्यक छ । शासकहरूको यस्तो नालायकपनले अब देश चल्दैन’ नेता शर्माले भन्नुभयो, ‘स्वतन्त्र र सार्वभौम राष्ट्रका नागरिकको रुपमा गौरवका साथ देशभित्रै रोजगार पाउने वातावरण बनाउन स्वयम् युवाहरू नै जाग्नुपर्छ । युवाले नै संघर्ष गर्न तयार हुनुपर्छ ।’
राज्यको अहिलेको चरित्र जनपक्षीय हुन नसक्ने जिकिर गर्दै उहाँले नयाँ जनवादी क्रान्तिपछि मात्रै जनताको हित हुने स्पष्ट पार्नुभयो । राज्यको चरित्र बदल्न युवाहरूको नेतृत्वदायी भूमिका हुनुपर्ने उहाँले बताउनुभयो ।
शर्माले राष्ट्रियताको रक्षा र जनजीविकाको पक्षमा संघर्ष गर्ने एउटै मात्र पार्टी नेकपा (मसाल) भएको जिकिर गर्दै मसालको सहायक संगठन हुनुको नाताले यो संगठनको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिनुभयो ।
अखिल नेपाल युवक संघ अन्य संगठन भन्दा भिन्न, अनुशासित र मिलट्यान्ट हुनुपर्नेमा उहाँको जोड थियो । सशक्त भूमिका खेल्नसक्ने युवक संगठनले मात्रै नेकपा (मसाल) ले लिएको नयाँ जनवादी क्रान्तिको लक्ष्यलाई मद्दत पुर्याउन सक्ने शर्माले बताउनुभयो ।
कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विशिष्ट अतिथी हुनुहुन्थ्यो।
नेताद्वय सिंह र केसीले युवाहरूलाई विभिन्न राजनीतिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।
अखिल नेपाल युवक संघ, काठमाडौंका अध्यक्ष डम्बर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (मसाल) काठमाडौंका प्रवक्ता जगत रेग्मी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झविन्द्र बेलबासे, युगदर्शनका व्यवस्थापक हरिकान्त शर्मा, जातीय समता समाजका महासचिव भक्त विकको आतिथ्यता रहेको थियो ।
यस्तै, रक्तिम सांस्कृतिक अभियान काठमाडौंका उपाध्यक्ष रामअन्जान परियार, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य लेखत कुँवर र अखिल (छैठौं) का जिल्ला सचिव मदन भुसालको पनि आतिथ्यता रहेको कार्यक्रममा रक्तिमका कलाकारहरूले स्वागत गरेका थिए ।
काठमाडौंको कपनस्थित राजमो केन्द्रीय कार्यालयमा भएको उक्त कार्यक्रमको सञ्चालन समष्टि बुढाले गर्नुभएको थियो ।