काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले मल अभावको विरुद्ध आगामी असार २५ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ ।
‘गोदाममा राखिएका र कालोबजारीको हातमा रहेको मल तत्काल वितरण गर !’ ‘दीर्घकालीन रूपमा मल अभावको समस्या समाधान गर !’ नाराका साथ अप्फाले सो प्रदर्शन गर्ने भएको हो ।
२०८१ असार १६ गते आइतबार अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा जारी प्रेसवक्तव्यमा विरोध प्रदर्शनबारे सो जानकारी दिइएको छ । असार १५ गते सम्पन्न सचिवालय बैठकले सो निर्णय गरेको प्रेसवक्तव्यमा उल्लेख छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ
“असार १५ किसानको महत्त्वपूर्ण पर्वको दिन अखिल नेपाल किसान महासङ्घ (अप्फा) को केन्द्रीय सचिवालय बैठकले यही २०८१ साल असार २५ गते देशव्यापी रूपमा मलअभावलाई समाधान गर्न मलआपूर्तिको लागि सरकारको विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
सरकारले मलको अभाव छैन भनिरहेको छ तर विशेषतः तराई क्षेत्रमा धान रोप्ने बेलामा मलको हाहाकार मच्चिरहेको छ ।
सरकारबाट सीमित प्रकारको मल वितरण, त्यहीमाथि सरकारपक्षीय पार्टीहरूको हालिमुहालीले सर्वसाधारण जनताले कालोबजारी र भारतबाट अवैध रूपमा भित्रिने कमसल मललाई उच्च रकम तिरेर धान रोप्नुपरिरहेको छ । असार १५ गते धान दिवस मनाउने सरकारले भएका मल पनि कमिसन र अवैध रूपमा वितरण गर्दा सर्वसाधारण किसानलाई मलको अभाव भइरहको छ । ‘गोदाममा राखिएका र कालोबजारीको हातमा रहेको मल तत्काल वितरण गर !’, ‘दीर्घकालीन रूपमा मल अभावको समस्या समाधान गर !’ भन्ने नाराका साथ सङ्घर्षमा उत्रिने निर्णय गरेको छ ।
पहाडमा तराईको अपेक्षा कम धानखेती हुने गर्दछ । देशको मुख्य धानखेती तराईमा नै हुने गर्दछ । त्यसैले धानसहित बर्खे वा हिउँदेबालीमा प्रमुख रूपमा प्रयोग हुने मलखाद आम किसानसम्म पुर्याउन देशव्यापी रूपमा किसानले आवाज उठाउनुपर्दछ । त्यसका लागि सबै न्यायप्रेमी जनताले यस विरोध प्रदर्शनलाई साथ दिन आह्वान गर्दछ ।”