काठमाडौं । वायू प्रदूषणबाट एक वर्षमै ८१ लाख मानिसको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ । हालै सार्वजनिक भएको स्टेट अफ ग्लोबल एयर २०२४ नामक रिपोर्टले यस्तो तथ्यांक प्रस्तुत गरेको हो ।
हेल्थ इफेक्ट इन्ष्टिच्यूट एवम् हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन नामक संस्थाले यूनिसेफसँगको सहकार्यमा यो प्रतिवेदन सार्वजनिक गरेको हो। स्टेट अफ ग्लोबल एयरको उक्त प्रतिवेदनले २०२१ मा विश्वमा वायु प्रदूषणका कारण ८१ लाख मानिसको मृत्यु भएको तथ्य प्रस्तुत गरेको छ।
सन् २०१९ मा करिब ७२ लाख मानिसको मृत्यु वायु प्रदूषणका कारण भएको उल्लेख गरिएको थियो। वायु प्रदूषणका कारण नेपालमा सन् २०२१ मा ४८ हजार पाँच सय मानिसको मृत्यू भएको तथ्यांक प्रतिवेदनमा उल्लेख गरिएको छ।
सन् २०१९ को प्रतिवेदनमा यो संख्या ४२ हजार १०० थियो। विश्वभरी वायु प्रदूषणका कारण मृत्यु हुने मध्ये पिएम २.५ अर्थात धुलो धुँवामा मिसिएका विषाक्त वायुका कारण ५८ प्रतिशत, मृत्यु घर भित्रको प्रदूषणका कारण ३८ प्रतिशत र ओजोनको कारण ६ प्रतिशतको मृत्यु भएको तथ्य रिपोर्टमा उल्लेख छ।
विश्वभरी उच्च रक्क्तचाप पछि वायु प्रदूषण नै मानव स्वास्थ्यमा जोखिम बढाउने तत्व भएको कुरा उल्लेख छ। वायु प्रदूषणको उच्च जोखिममा दक्षिण एशियाली र अफ्रिकन मुलुकहरु रहेका छन्। संयुक्त राष्ट्र संघको साधारण सभाले स्वच्छ हावा, स्वास्थ्यर दिगो वातावरणलाई मानव अधिकारको रुपमा स्वीकार गरेको छ।
यसैगरी नेपालको संविधानको धारा ३० ले ‘स्वस्थ र स्वच्छ हावा’ नागरीकको मौलिक हकको रुपमा व्यवस्था गरेको छ। यद्यपि, यी प्रावधानहरुको कार्यान्वयन हुन सकेको छैन। वायु प्रदूषणको मुख्य कारण मध्ये जिवाष्म इन्धन, र जैविक इन्धनको अधिकतम् प्रयोग हुन्।
यी बाहेक खुल्ला फोहोर बाल्ने, फोहोरको व्यवस्थापन नहुनु, कृषि अवशेषको जलन, वन डढेलो, विषादीको उच्च प्रयोग वायु प्रदूषणका कारण हुन्।