चामेबजार । खासगरी गोरुमा देखा पर्ने लम्पिस्किन रोग हिमाली जिल्लाका याक र चारीमा समेत देखा परेको छ ।
हिमाली जिल्ला मनाङमा दुई सय गाई, गोरुसँगै याक र चौँरीमा लम्पिस्किन देखा परेको हो ।
भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमका अनुसार ८९ गाई, ९६ गोरु र ५१ याक, नाक (झोपा) र चौँरी लम्पिस्किनबाट सङ्क्रमित भएका छन् ।
नार्पाभूमि गाउँपालिकामा बाहेक नासो गाउँपालिकामा ३६, चामे गाउँपालिकामा ९६ र मनाङ ङिस्याङ गाउँपालिकामा एक सय १४ पशुमा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । चामे–२ स्थित थानचोक, मनाङ ङिस्याङको हुम्देस्थित क्युपार र नासों–२ को नाचे आलुबारीका पुशमा पनि सङ्क्रमणको जोखिम देखिएको छ ।
‘लम्पिस्किनको सङ्क्रमण फैलिँदै गएकाले नियन्त्रणका लागि भेटेरिनरी अस्पतालले खोपको व्यवस्थापन गरिरहेको छ’ प्रमुख कुसुमले भन्नुभयो– ‘लम्पिस्किन नियन्त्रण गर्न खोप र अन्य आवश्यक सामग्री भेटेरिनरी अस्पतालले व्यवस्थापन गर्ने छ ।’
भेटेरिनरी अस्पतालले दुई हजार डोज खोप ल्याइसकेको छ ।
‘सरकारबाट बजेट व्यवस्थापन गर्न समस्या भएको अवस्थामा पालिकालाई हेर्नुपर्ने भनेका थियौँ । अहिले सरकारबाट खोपको व्यवस्थापन भइसकेको छ’ उहाँले भन्नुभयो– ‘अब पालिकाले पशुको सहायक उपचारको लागि एन्टिबायोटिक सुई (जिट, मेलोक्सिकाम र रेस्टोबल इम्युनोबुस्टर) लगायत औषधि खरिद गर्न सक्ने छ ।’
यी औषधि खरिदका लागि पालिकासँग सहकार्य गरिने प्रमुख कुसुमले उल्लेख गर्दै पशुपालक किसानको गोठमै पुगेर पशु प्राविधिकले लम्पिस्किन रोग नियन्त्रणका लागि खोप लगाउन पुग्ने गरेको जानकारी दिनुभयो ।
रोग नियन्त्रणका लागि स्थानीय तहले पशु प्राविधिकलाई खटाएको छ । पशुमा लम्पिस्किन देखिनासाथ सगोलमा रहेका पशुलाई छुट्याएर राख्न सुझाव दिइएको, पशुलाई टोक्ने लामखुट्टे र झिँगाबाट जोगाउन पशुपालक किसानलाई सचेत गराउन लागिएको, बिरामी परेका पशुलाई स्याहारसुसार गर्न र सङ्क्रमण नभएका पशुको नजिक नजान भनिएको र सरसफाइ गरेर मात्र अन्य वस्तुको स्याहार सुसार गर्न सुझाव दिइएको उहाँको भनाइ थियो ।
जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएको थियो । जिल्लाका पशुमा हालसम्म लम्पिस्किनबाट दुई सय ३६ गाई, गोरु र याक सङ्क्रमित भएका छन् ।(रासस)