नयाँदिल्ली । भारतको पश्चिमी सङ्घ गुजरातमा विगत केही दिनदेखि आएको वर्षा र बाढी कारण १२ जना व्यक्तिको मृत्यु भएको छ ।
प्राकृतिक विपत्तिबाट धेरैको जीवनमा प्रतिकूल असर परेको स्थानीय सञ्चारमाध्यमले आइतबार उल्लेख गरेका हुन् ।
मृत्यु हुनेमा जामनगर जिल्लाका मात्रै छ जना रहेका छन् । मृत्यु हुने अन्य व्यक्तिहरू अमरेली, बोटाड र आनन्दका स्तानीय रहेको बताइएको छ ।
जामनगरका तल्लो क्षेत्र डुबानमा परेकाले मानिस घरभित्रै थुनिएका छन् । जामनगर जिल्लाको भिसावदार क्षेत्रमा शुक्रबार ३४९ मिलिमिटर वर्षा भएको थियो ।
लगातार वर्षाका कारण गुजरातमा नदीहरू खतराको चिह्नभन्दा माथि बगिरहँदा स्थानीयमा त्रास बढेको छ ।
राज्यको दयनीय अवस्थालाई ध्यानमा राख्दै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले बाढी प्रभावित क्षेत्रमा विशेष गरी राज्यको जामनगर, जुनागढ र कच्छ जिल्लामा भइरहेको राहत र उद्धार कार्यमा निरन्तर निगरानी बढाउनुभएको छ ।
स्थानीय प्रशासनका अधिकारीलाई तल्लो क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा सार्न लागिएको सञ्चारमाध्यमले जनाएका छन् । ९रासस–सिन्ह्वा०