शंकरप्रसाद पौडेल, बुटवल ।
राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले चुनाव जित्न ठूलो धनराशि खर्च गरेकाहरुले विकास बजेटमा भ्रष्टाचार गर्ने बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चा प्यूठान– रुपन्देही सम्पर्क समितिले शनिबार बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचारविरुद्ध नागरिक आन्दोलनको खाँचो औँल्याउनुभयो ।
पौडेलले भन्नुभयो, ‘भ्रष्टाचारविरुद्व नागरिक आन्दोलन आवश्यक छ । चुनाव जित्न ठूलो धनराशि खर्च गरेकाहरु अहिले त्यही पैसा उठाउन भ्रष्टाचारमा लागेकाले आमनागरिक सचेत हुन आवश्यक छ ।’
पौडेलले मूल नीतिको रुपमा रहेको राजनीति बिग्रेकाले देश राजनीतिक रुपले संकटमा परेको तर्क गर्नुभयो ।
देशको आर्थिक अवस्थाले संघीयता धान्न नसक्ने उल्लेख गर्दै स्थानीय तहलाई अधिकार सम्पन्न गराएर प्रदेश खारेज गर्नुपर्ने उहाँको तर्क छ ।
लुम्बिनी प्रदेश सांसद तारा थापाले संघीयता र भ्रष्टाचारले देश आर्थिक संकटमा परेको बताउँदै मुलुकको लागि संघीयता असफल भैसकेको बताउनुभयो ।
संघीयता, नागरिकता विधेयक, एमसीसीका कारण राष्ट्रियता कमजोर भएको र विदेशी हस्तक्षेप बढेको उहाँको तर्क छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य वासुदेव पोखरेलले नेपालको राजनीतिमा अमेरिकी हस्तक्षेप बढेको बताउनुभयो । नेता पोखरेलले संसदबाट एमसीसी पास भएसँगै नेपालको राजनीतिमा अमेरिकाको हस्तक्षेप बढेको स्पष्ट पार्नुभयो ।
चीनका विरुद्व लड्न नेपालको भूमि प्रयोगका लागि अमेरिकाले विकासको नाममा एमसीसी संसदबाट पास गराएको उल्लेख गर्दै अब अमेरिका एसपीपी परियोजना पास गराउने दाउमा रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा अखिल नेपाल उद्योग व्यापार संघका अध्यक्ष ढुन्डिराज शर्मा, रक्तिम सांस्कृतिक अभियान नेपालका केन्द्रीय अध्यक्ष गिरि प्रसाद बुढा, कम्युनिष्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोख्रेल, अखिल नेपाल बुद्धिजीवी संघका साचिवालय सदस्य दुर्गानाथ खरेल, राजमो प्रदेश कार्यलय सचिव भिमलाल न्यौपाने, राजमो जिल्ला सचिव टान बहादुर केसी, अखिल (छैटौं)का केन्द्रीय सदस्य टेकराज भुसाल, युवक संघका अध्यक्ष हरि योगी, अखिल नेपाल महिला संघकी लक्ष्मी कुँवर, अर्घाखाँची रुपन्देही सम्पर्क समितिका अध्यक्ष गोपाल बन्जाडे, शिव पौडेल, वसन्त जिसि, लोकनाथ भुसाल, राजमो झिमरुकका नेता राम बहादुर जिसि लगायतको अथित्या रहेको थियो।
राष्ट्रिय जनमोर्चा प्यूठान– रुपन्देही सम्पर्क समितिका अध्यक्ष कृष्णबहादुर जिसीको अध्यक्षता, शंकर पोखरेलको सञ्चालन र केपी पोखरेलको स्वागतमा भएको कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले विभिन्न जोशिला सांगीतिक प्रस्तुतीहरू प्रस्तुत गरेका थिए।
