काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले रवि लामिछाने नेपालमा अमेरिकी साम्राज्यवादी उद्देश्य पुरा गर्न काम गरिरहेको बताउनुभएका छ ।
नागरिकता विवादमा सांसद पदसहित गृहमन्त्री गुमाएका लामिछाने पुनः गृहमै फर्कन कसरत गर्नु अमेरिकी साम्राज्यवादी उद्देश्य पुरा गर्नका लागि भएको महामन्त्री सिंहको टिप्पणी छ ।
शुक्रबार सामाजिक सञ्जालमा सिंहले लेख्नुभएको छ, ‘अमेरिकाको उद्देश्य नेपालको संसद र सरकार समेतमाथि आफ्नो प्रभुत्व कायम गर्नु हो र रवि लामिछानेले नेपालमा अमेरिकाको त्यही साम्राज्यवादी उद्देश्य पुरा गर्न काम गरिरहेका छन् ।’
महामन्त्री सिंहले लामिछानेको अवैध नागरिकताको मुद्दामा उनलाई संसदको सदस्य तथा उपप्रधानमन्त्री र गृहमन्त्रीको पदबाट बर्खास्त गरेर सजाय दिएकोप्रति स्वागत गर्दै ‘त्यो भन्दा महत्वपूर्ण राजनीतिक प्रश्न उनले अमेरिकी साम्राज्यवादको निर्देशनमा काम गरिरहेका छन्, जो सम्पूर्ण देश र राष्ट्रियता समेतको लागि गम्भीर र भयानक विषय हो’ भन्नुभएको छ ।
तर देशमा त्यो पक्षप्रति कम ध्यान दिएको सिंहको टिप्पणी छ ।