रामप्रकाश पुरी
नेकपाको इतिहासमा फुटको लामो फेहरिस्त छ । केही फुट प्राविधिक रुपमा गुट वा व्यक्तिको निहित स्वार्थद्वारा प्रेरित भएका भएपनि सिद्धान्त र नीतिको आधारमा नै सबै भन्दा बढी फुट भएका छन् । त्यसरी सिद्धान्त र नीतिको नाममा भएका सबै भन्दा बढी फुटको सामना नेकापा (मसाल)ले गरेको छ । ४० को दशक यता मात्र मसालको इतिहासमा फुटकर रुपमा पार्टीबाट बाहिरिने बाहेक सात भन्दा बढी समूहगत फुट भएका छन् । त्यसरी भएका ती सबै फुटमा नीति र सिद्धान्तको विषय केन्द्रमा रहेको छ । तर त्यसरी फुटका लागि नीति र सिद्धान्तको विषय मुख्य भएको जस्तो देखिए पनि वास्तविकता के हो ? त्यो प्रश्नप्रति पनि हाम्रो ध्यान जानु पर्दछ ।
नीति र सिद्धान्तमा गम्भीर विवाद भई हुने फुट र नीति र सिद्धान्तको आवरणमा रहेर पार्टीमा ल्याइने फुटको बीचमा कुनै साइनो छैन । नीति र सिद्धान्तमा गम्भीर विवाद भई हुने फुटले नीति र सिद्धान्तमा एकरुपता नभएकोले अवश्यमभावी र अनिवार्य फुटको स्थितिको अवगत गराउँछ भने नीति र सिद्धान्तको आवरणमा भएको फुटले कुनै पक्षमा रहेको निहित स्वार्थ वा फुटपरस्त नियतलाई परिभाषित गर्दछ । तर पनि यी दुबै खालका फुटमा सैद्धान्तिकता रहन्छ । त्यसैले त्यस प्रकारका फुटलाई प्राविधिक भन्न मिल्दैन ।
यो टिप्पणीमा मसालको इतिहासका सबै फुटबारे नभएर ‘हाँक’ साप्ताहिक अपहरण गरेका फुटपरस्त तत्वहरुको वास्तविकताबारे ‘हाँक साप्ताहिक’सित मात्र सम्बन्धित रहेर सानो चर्चा गरिने छ ।
पहिले ‘हाँक’ साप्ताहिक हाम्रो पार्टीको वैधानिक पत्रिकाको रुपमा रहँदा प्रालिमा लैजाने पार्टीको निर्णयलाई उलङ्घन गर्दै विरोध गरेका तत्वहरुले पनि ‘हाँक’लाई अहिले प्रालिमा लिएका रहेछन् । उनीहरुको त्यस प्रकारको कार्यलाई त्यो पत्रिकाका प्रधानसम्पादक गोविन्दसिंह थापाले विरोध गर्नु भएको छ वा वा समर्थन ? त्यो कुरा अहिले हामीलाई थाहा भएन । तर यो कुरा हामीलाई थाहा छ कि उहाँले हाम्रो पार्टीमा रहेको बेलामा ‘हाँक’ साप्ताहिकलाई पार्टीको सातौँ केन्द्रीय समितिले प्रालिमा लैजाने निर्णय गर्दा त्यसलाई समर्थन गरेर हस्ताक्षर गर्नु भएको थियो । पछि आठौँ महाधिवेशन सम्पन्न भइसकेपछि आठौँ केन्द्रीय समितिले सातौँ केन्द्रीय समितिको उक्त निर्णयलाई कार्यान्वयन गर्दा उहाँले उक्त साप्ताहिक पत्रिकालाई प्रालिमा लैजाने कुराको विरोध गर्नु भएको थियो । उहाँले त्यस प्रकारको रबैया देखाएपछि पार्टीले उहाँलाई स्पष्ट पार्ने प्रयत्न गरेको थियो । तैपनि उहाँले विरोध गरिरहनु भयो ।
उहाँले त्यसरी विरोध गरिरहनुको मुख्य कारण त्यो पत्रिका उहाँको नाममा दर्ता हुनु नै थियो । त्यसैले उहाँलाई त्यो पत्रिकाको मालिक बन्ने वैधानिकता पनि प्राप्त थियो । त्यही कानुनी आधार समाएर उहाँले पार्टीको निर्णयलाई उलङ्घन गर्ने आँट गर्नुभएको थियो । उहाँको त्यस प्रकारको कार्य पार्टीको निर्णय र अनुशासन विरुद्ध भएकोले उहाँलाई सतर्क बनाउन पार्टीको तर्फबाट पूरा प्रयत्न पनि भएको थियो । तर उहाँले ‘पार्टीले कारवाही गरे पनि गरोस्, तर पत्रिकालाई प्रालिमा लिन नदिने’ भनेर पार्टीलाई जवाफ दिनुभएको थियो । त्यसरी थापालाई पार्टीबाट समेत निष्कासन गर्नुपर्ने स्थिति पैदा भएको थियो । हाम्रो पार्टीबाट निष्काशित भइसकेपछि थापाले त्यो पत्रिकालाई मसाललाई गाली गलौज गरेर दिन बिताइरहेका तत्वहरुको साधन बनाइदिनु भएको थियो । अहिलेसम्म ती तत्वहरुले त्यो धन्दा चलाइरहेका छन् ।

हामीलाई लागेको थियो, थापाले आफ्नो सम्पत्तिलाई आफैसित सुरक्षित गरिरहनु हुनेछ । अथवा त्यसरी आफैसित सुरक्षित नगरेपनि प्रालिमा त अवश्य पनि लैजानु हुने छैन । किनभने उहाँले प्रालिमा लैजाने पार्टीको निर्णयको विरोध गर्नुभएको थियो र त्यसका लागि उहाँ पार्टीबाट समेत निष्काशित हुनुभएको थियो । तर अब त्यो पत्रिका “हाँक सञ्चार प्रालि”मा रहेको कुरा सार्वजनिक भएको छ । त्यसरी थापाले आफ्नो नामको पत्रिकालाई प्रालिमा लैजाने पार्टीको निर्णयको विरोध गरेर पार्टीलाई फुटाउन क्रियाशील तत्वहरुका लागि काम गरेको कुरा स्पष्ट हुन्छ ।
थापालाई पार्टीको निर्णय र अनुशासनको उलङ्घन गरेका कारणले पार्टीबाट निष्काशित गरेपछि सबैभन्दा “मर्माहत” फुटपरस्त तत्वहरु नै भएका थिए । यो कुरा सत्य थियो कि गोविन्दसिंह थापा हाम्रो पार्टीका पुराना र लामो पृष्ठभूमिबाट आएका साथी हुनुहुन्थ्यो । तर त्यसका कारणले उहाँलाई पार्टीमा निर्णय र अनुशासनको उलङ्घन गर्न त छुट हुँदैन्थ्यो ।
पार्टीको इतिहासमा त्यस प्रकारको छुट कसैलाई भएको थिएन भने उहाँलाई पनि किन हुन्थ्यो र ? त्यसैले उहाँ जतिसुकै पुरानो र लामो पृष्ठभूमिबाट आएको भएपनि उहाँ स्वयम्ले नै आफू पार्टीभित्र रहने आधार समाप्त गर्नु भएपछि उहाँ पार्टीबाट बाहिरिनु स्वाभाविक हुन्थ्यो र त्यही भयो । त्यो अवस्थामा उहाँ पार्टीँबाट निष्काशित भइसकेपछि उहाँको ‘पुरानो र लामो पृष्ठभूमि’लाई दुहाइदिएर फुटपरस्त तत्वहरुले ठूलो खैलाबैला मच्चाएका थिए । वास्तवमा त्यो खैलाबैला पुरानो र लामो पृष्ठभूमि भएको व्यक्तिलाई पार्टीबाट निष्काशित गरियो’ भनेर मसालका तमाम समर्थक र शुभेच्छुकलाई भ्रममा पार्नका लागि उपयोग गर्नु थियो । त्यसैले गोविन्द सिंह थापा पार्टीबाट निष्काशित हुँदा फुटपरस्तहरुलाई भएको ‘मर्माहत’ वास्तविक रुपले मर्माहत नभएर उनीहरुको ‘खुसियाली’ थियो भन्ने कुरा प्रष्ट नै थियो । तर वास्तविकता सतहमा नआएकोले त्यसबाट केही भ्रम उत्पन्न हुनु स्वाभाविक थियो । अहिले ‘हाँक सञ्चार प्रालि’ले उनीहरुको कथित ‘सैद्धान्तिक मतभिन्नता’को एक हदसम्म मकुण्डो उतारेको छ ।
सबै फुटपरस्त तत्वहरू झैँ ‘हाँक’ अपहरणकारीहरु पनि नाङ्गेझार बन्दै जाने छन् । उनीहरुको कथित सिद्धान्त र विचार फुटपरस्तको कार्ययोजना मात्र थियो । उनीहरु सिद्धान्त र नीतिको आवरणमा उम्रिएका फुटपरस्त विरुवा थिए । उनीहरुका विभिन्न फुटपरस्त कार्ययोजनाको मकुण्डो भविष्यमा अरु झन् उदाङ्गिदै जाने छ । त्यो काम उनीहरु स्वयम्ले नै सम्पन्न गर्ने छन् ।