काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले प्रतिगमन विरोधी सहकार्यबाट कोही बाहिरिँदैमा त्यसको औचित्य समाप्त नहुने दाबी गर्नुभएको छ ।
नेकपा (मसाल) केन्द्रीय कार्यालयको आयोजनामा २०७९ पुस ११ गते (डिसेम्बर २६, २०२२) सोमबारका दिन एक सय तिसौँ माओदिवसको अवसरमा काठमाडौँस्थित राजमो केन्द्रीय भवन कपनमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
‘प्रधानमन्त्री पदका लागि अहिले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड बाहिरिएका छन्’ उहाँले अगाडि भन्नुभयो– ‘तर त्यो कारणले देशमा प्रतिगमन विरोधी सहकार्यको औचित्य समाप्त भएको पुष्टि हुन्न ।’
महासचिव भट्टले सहकार्यमा कुनै दल थपिने वा छुट्टिने काम भइरहने बताउनुभयो ।
‘२०५९ सालपछि राजा ज्ञानेन्द्रले सरकार गठन गर्नका लागि तत्कालीन नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) र नेकपा (एमाले) लाई बोलाएका थिए । त्यस आधारमा उनीहरूले प्रतिगमन आधा सच्चियो भनेर सरकारमा समेत गएका थिए’ उहाँले अगाडि भन्नुभयो– ‘के त्यो कारणले राजतन्त्र विरुद्धको आन्दोलनको औचित्य समाप्त भएको थियो त ? थिएन । पछि उनीहरू सबै संयुक्त आन्दोलनमा आएका थिए र अन्तत: राजतन्त्र ढलेको थियो ।’
उहाँले अहिले प्रचण्डले प्रधानमन्त्री पदकै लागि गठबन्धनबाट बाहिर जानु अनौठो नभएको बताउनुभयो । प्रचण्डको यस्तो भूमिका यसभन्दा अगाडि पनि पटक पटक देखा परेको उहाँले स्मरण गर्नुभयो ।
अर्को सन्दर्भमा उहाँले अहिले देशको गणतन्त्र कमजोर अवस्थामा रहेकाले नै सरकार गठनमा साम्राज्यवादपरस्त तŒवहरू समावेश भएको बताउनुभयो ।
‘अहिले जसरी सरकारमा भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवादपरस्त तत्त्वहरू गएका छन्’ उहाँले अगाडि भन्नुभयो– ‘त्यसले यो बताउँछ : नेपालको गणतन्त्र अझै संस्थागत हुन सकिरहेको छैन । त्यसैले गर्दा अहिले पनि देशमा साम्राज्यवादी चलखेल बढ्दो छ ।’
नेता भट्टले यस्तो अवस्थामा साम्राज्यवादी चलखेलको विरुद्धमा सङ्घर्ष गर्नुपर्ने आवश्यकता अझै पनि यथावत् रहेको बताउनुभयो ।
‘देशको सार्वभौमसत्ता र गणतन्त्र यसरी कमजोर भइरहेका बेला हाम्रो प्रयास यसलाई सुदृढ गराउने हुनुपर्दछ, यसलाई झन् कमजोर बनाउने होइन’ वामपन्थी सङ्कीर्णतावादी चिन्तनको आलोचना गर्दै उहाँले भन्नुभयो ।
महासचिव भट्टले साम्राज्यवादी शक्तिहरूले गणतन्त्रकै आवरणभित्र नेपालमा भारतको संसदीय तानाशाह इन्दिरा गान्धी जस्ता पात्र उभ्याउन सक्ने भएकाले त्यसका विरुद्ध सङ्घर्ष गर्दै लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने काममा लाग्नुपर्ने आवश्यकतामा जोड दिनभयो ।
कार्यक्रममा सम्बोधन गर्दै अर्का अतिथि राजमो नेता आनन्द शर्माले चुनावमा अमेरिकाले प्रत्यक्ष रूपमा चलखेल गरिरहेको बताउँदै अहिले सरकार निर्माणको सन्दर्भमा त्यसले प्रष्ट रूपधारण गरेको बताउनुभयो ।
‘अमेरिकी साम्राज्यवादले आफ्ना एजेन्टलाई चुनावमा जितायो’ उहाँले अगाडि भन्नुभयो– ‘अहिले सरकार गठनमा भारतीय र अमेरिकी
साम्राज्यवादपरस्त तत्त्व नै सामेल भएका छन् । यसले बताउँछ : आगामी दिनमा देशमा साम्राज्यवादी चलखेल अरू बढेर जाने निश्चित छ ।’
नेता शर्माले देश अब साम्राज्यवाद विरोधी सङ्घर्षको दिशातिर मोडिन सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘अब हामीले व्यवस्थित प्रकारले आन्दोलनको तयारी गर्नुपर्छ ।’
‘अहिले बनेको सरकार प्रतिगामी शक्तिहरूको सहयोगमा बनेको छ’ उहाँले भन्नुभयो– ‘प्रतिगमनपरस्त तत्त्वहरूले गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्न सक्दैनन् । त्यसैले हामी सङ्घर्षका लागि तयार हुनुपर्दछ ।’
उहाँले प्रतिगामी एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नु देशका लागि दुर्भाग्य भएको बताउनुभयो । उहाँले ठोकुवा गर्नुभयो– ‘उनको नेतृत्वमा देश गलत दिशातर्फ जाने देखियो ।’
उहाँले संसदीय व्यवस्थामा यस खालको विकृति देखिनु नयाँ विषय नभएको बताउनुभयो । ‘संसदीय व्यवस्थामा यस्ता फोहोरी खेल भइरहन्छन् । यो नयाँ विषय होइन’ उहाँले भन्नुभयो ।
‘तर माओत्सेतुङले भने झैँ रणनीतिक रूपमा सबै प्रतिक्रियावादीहरू कागजी बाघ हुन्’ उहाँले भन्नुभयो– ‘जनताको आन्दोलनका अगाडि सबै प्रतिक्रियावादीको पराजय निश्चित छ ।’
उहाँले थप्नुभयो– ‘माओत्सेतुङले भने झैँ जनताको जित अवश्य हुने छ, क्रान्ति अवश्यम्भावी रूपमा सफल हुने छ । यस्तो प्रेरणा हामीलाई माओत्सेतुङ विचारधाराले दिएको छ ।’
त्यस्तै, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले माओत्सेतुङ विचारधाराको ऐतिहासिक महŒव रहेको बताउनुभयो । उहाँले धेरै क्षेत्रमा माओको महत्त्वपूर्ण भूमिका रहेको पनि दाबी गर्नुभयो ।
नेपालको कम्युनिस्ट आन्दोलनमा अवसरवादीहरूको बोलबाला रहेको बताउँदै उहाँले माओको विचारले सबै प्रकारका संशोधनवादको विरुद्ध सङ्घर्ष गर्ने शिक्षा दिएको बताउनुभयो ।

उहाँले क्रान्तिकारी विचारको प्रचार प्रसारका लागि माओदिवस जस्ता कार्यक्रम मनाउनुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो ।
सम्बोधनको क्रममा उहाँले अहिले पनि विश्वभर महिलामाथिको अन्याय, अत्याचार भइरहेको बताउनुभयो ।
इरानमा महिलामाथिको अत्याचार बढ्दै गइरहेको तथा अफगानिस्तानमा हालै विश्वविद्यालयमा महिलालाई पढ्नमा रोक लगाइएको तथा सार्वजनिक क्षेत्रका काम गर्न नपाउने नीति लागु गरिएकोमा नेतृ पुनले त्यसको विरोध गर्नुभयो ।
उहाँले माओत्सेतुङ विचारधाराले महिलासहित सबै प्रकारका भेदभावको विरुद्धमा सङ्घर्ष शिक्षा दिएको बताउनुभयो ।
नेकप (मसाल) को केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीको अध्यक्षता तथा मसालकै बागमती प्रदेश प्रवक्ता समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री, केन्द्रीय सदस्य सुधा शर्मा, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य पवित्रा जिसी, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का महासचिव प्रकाश थापामगर, राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासे र प्रगतिशील पत्रकार सङ्घ काठमाडौँका अध्यक्ष रोशन दानीको पनि आतिथ्य रहेको थियो ।






