काठमाडौं । विभिन्न दलसम्बद्ध सांस्कृतिक संगठनहरुले सीमा बचाउन संयुक्त सांस्कृतिक अभियान सञ्चालन गर्ने जनाएका छन् । ‘सीमा बचाऔँ संयुक्त सांस्कृतिक अभियान, नेपाल’ले हालै भारत सरकारले प्रकाशन गरेको नक्शामा नेपालको भू–भाग राखेकामा त्यसलाई अविलम्ब सच्याउन माग गरेको छ। अभियानले आइतबार पत्रकार सम्मेलन गरी मुलुकको अखण्डता र राष्ट्रिय स्वाधीनताका विषयमा सबै कलाकार एकतावद्ध रहेको जनाएको छ।
नेपालका ६० स्थानभन्दा बढी ठाउँमा भारतसँग सीमा समस्या रहेकाले त्यसको समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिँदै अभियानका संयोजक खगेन्द्र राईले दुबै देशका जनताबीच सदियौं पूरानो सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहेकाले सीमा विवादका विषयमा आफूले भारतका कलाकरसँग कुरा गरेको बताउनुभयो ।
अभियानले सरकार र सबै राजनीतिक दललाई सीमा समस्या समाधानका लागि ज्ञापनपत्र बुझाउने र आगामी दिनमा साहित्य, नाटक र गीतलगायत माध्यमबाट जनमत सिर्जना गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । सोअन्तर्गत यही मंसिर ९ गते काठमाडौंस्थित भारतीय दूतावासमा बिरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।
‘सीमा बचाऔँ संयुक्त सांस्कृतिक अभियान, नेपाल’ ले हालै जारी गरेको अतिक्रमित नेपाली भूमि अभिलम्ब फिर्ता गर्न आग्रह गरेको छ । संयुक्त विज्ञप्तिमा सार्वजनिक नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा ‘नेपाल र भारतबीचको सीमासम्बन्धी नक्सा नेपाल सरकारको सहमतिबिना भारत सरकारद्वारा एकपक्षीय रूपमा प्रकाशित गरिएकाले सो नक्सा खारेज गर्दै भारत सरकारको यसखाले हेपाहा प्रवृत्तिको हामी घोर भत्र्सना गर्दछौँ,’ उल्लेख छ ।
अभियानमा रक्तिम सांस्कृतिक अभियान,जन सांस्कृतिक महासंघ नेपाल, नेपाल सांस्कृतिक संघ, र समाजवादी सांस्कृतिक महासंघ आवद्ध छन्।