प्रकाश थापा मगर
काठमाडौँ । प्रगतिशील लेखक सङ्घले भारतीय हस्तक्षेपको विरोध गरेको छ । नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय भूमिमा पारेर हालै भारतले नक्सा प्रकाशित गरेपछि त्यसको विरोध गर्दै प्रलेसको यस्तो धारणा सार्वजनिक भएको हो ।
प्रलेस, नेपालले २०७६ कार्तिक २१ प्रेस वक्तव्य जारी गर्दै भारतीय हस्तक्षेपको विरोध गरेको हो । अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरी र महासचिव समीर सिंहको हस्ताक्षर रहेको सो वक्तव्यमा पुर्खाको नासोको रूपमा रहेको सो भूमिको रक्षार्थ सरकारले यथाशीघ्र कूटनीतिक पहल गर्नुपर्ने तथा आफ्नो भूमिको रक्षार्थ सङ्घर्षरत सम्पूर्ण देशभक्त राष्ट्रवादी जनसमुदायसित एक्यबद्धता प्रकट गरिएको छ ।
वक्तव्यमा अगाडि भनिएको छ– “नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय अतिक्रमणले सीमा नाघिरहेको विगत र वर्तमान कसैसामु लुकेको छैन । हाल भारतद्वारा सार्वजनिक गरिएको राष्ट्रिय नक्साभित्र नेपालको उक्त भूभाग गाभेर प्रकाशित गरिनु नेपालको सार्वभौमिकतामाथि नाङ्गो हस्तक्षेप हो ।
यसको प्रगतिशील लेखक सङ्घ, नेपाल घोर भत्र्सना गर्दै जोडदार विरोध गर्दछ । यस सवालमा आफ्नो भूमिको रक्षार्थ राजनैतिक, वैचारिक र सांस्कृतिक रूपमा सङ्घर्षरत रहने प्रण गर्दै सङ्घर्षरत सम्पूर्ण देशभक्त राष्ट्रवादी क्रान्तिकारी जनसमुदायसँग ऐक्यबद्धता जाहेर गर्दछ ।
साथै पुर्खाको नासो नेपाली भूमिको रक्षार्थ यथाशीघ्र कूटनैतिक पहलका साथ समस्या समाधान गर्न नेपाल सरकारलाई आग्रह गर्दै यस सवालमा सम्पूर्ण सचेत नेपाली जनसमुदायमा एकताबद्ध सङ्घर्षका लागि प्रलेस, नेपाल आह्वान गर्दछ ।”