लोकेन्द्र पौडेल (दक्षिण भारत)
प्युठानको माण्डवी गाउँपालिका–३ घर भएका ४२ वर्षीय मतिलाल खनालको भारतको चेन्नईमा मृत्यु भएको छ।
विगत चार वर्षदेखि चेन्नईको नुङ्गमबक्कम, रुटलेन गेट–४ स्थित भूमी बिल्डिङमा सुरक्षा गार्डका रूपमा कार्यरत खनाल आफन्तलाई भेट्न तारामणी पुगेका बेला रिँगटा लागेर लड्दा अचेत अवस्थामा रहेको समाचार प्राप्त भएको थियो।
समाचार प्राप्त हुनासाथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य काशीराम शर्मा, केन्द्रीय प्रतिनिधि तथा दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेललगायत मूल प्रवाहका नेता तथा कार्यकर्ताको प्रतिनिधिमण्डल घटनास्थल पुगेको थियो।
प्रतिनिधिमण्डलले तारामणी प्रहरी स्टेसनमा एफआईआर दर्ता गर्नुका साथै मृतक खनालको शव रायपेटा सरकारी अस्पतालमा राखिएको जानकारी प्राप्त गरेको छ। प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।
आइतबार सार्वजनिक बिदा परेकाले पोस्टमार्टमलगायत दाहसंस्कारका कार्यहरू २८ सेप्टेम्बर २०२६ का दिन गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।
