काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले अध्यादेशबाट संसद् चलाउने तरिका लाकितान्त्रिक नभएको बताउनुभएको छ ।
२०८१ माघ २४ गते बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।
‘संसद् बोलाउन केले रोकेको थियो ? केले छेकेको थियो’ अध्यक्ष केसीले भन्नुभयो–’यही तरिकाले मुलुक चलाउने हो भने यो लोकतान्त्रिक पद्धति होइन, यो त अप्रजातान्त्रिक पद्धति हो ।’
उहाँले आफूहरू यस्तै अप्रजातान्त्रिक पद्धतिको विरुद्धमा लडेको संसद्लाई स्मरण गराउनुभयो ।
अध्यक्ष केसीले भन्नुभयो– ‘यस्तै अप्रजातान्त्रिक पद्धतिको विरुद्धमा त हो हामी लामो समयसम्म लडेको ।’
सांसद केसीले देशमा लोकतन्त्रको अभ्यास गर्ने सिलसिलामा राजनीतिक पार्टीहरू पटक पटक चुकेको बताउनुभयो ।
उहाँले संसद्मा सुझाव प्रस्तुत गर्नुभयो– ‘यस्तो तरिका अपनाउनु हुँदैन । बेलैमा संसद् बोलाउनुपर्दछ ।’