बुटवल । सङ्घीयताको अनावश्यक खर्च देशले धान्न नसक्ने धारणा रुपन्देहीका राजनीतिक दलका नेता तथा बुद्धिजीवीहरूले व्यक्त गरेका छन् ।
२०८१ माघ ५ गते शनिबार अखिल नेपाल बुद्धिजीवी सङ्घ रुपन्देहीद्वारा आयोजित ‘सङ्घीयता र लोकप्रियतावाद नेपालका लागि घातक’ विषयक अन्तरक्रिया कार्यक्रममा विचार अभिव्यक्त गर्दै उनीहरूले सो धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेपालको सन्दर्भ सङ्घीयता आवश्यक नरहेको बताउनुभयो ।
उहाँले सङ्घीयताले अनावश्यक खर्च बढाएकाले देशले त्यसलाई धान्न नसक्ने धारणा राख्नुभएको हो ।
प्रदेशको आम्दानीभन्दा खर्च निकै धेरै भएकाले सङ्घीयता देशका लागि सबैभन्दा घातक रहेको बताउँदै उहाँले प्रदेशको काम के हो भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो–’ऋण काढेर देशले सङ्घीयता धान्न सक्दैन । यस्तो आवश्यक पनि छैन ।’
अधिकांश नेपाली जनताको माग सङ्घीय प्रदेश खारेजी रहेको बताउँदै महासचिव भट्टले राष्ट्रिय जनमोर्चाले सङ्घीयता खारेजीको लागि आउँदो चैत २४ गते देखि ३० गतेसम्म काठमाडौँकेन्द्रित आन्दोलन गर्न थालेको दाबी गर्नुभयो ।
त्यस्तै, लोकप्रियतावाद बेलाबेलामा खतरनाक रूपमा आउने गरेकोसमेत उहाँको भनाइ थियो ।
मार्क्सवादी विचार मञ्चका महासचिव विनबहादुर कुँवरले सङ्घीयता नेपालको सन्दर्भमा ठिक नभएको बताउनुभयो ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का प्रतिनिधि विष्णु खत्रीले मन्तव्य राख्दै लोकप्रियतावादको बढ्दो प्रभावले देशका सामु चिन्ता थपिएको बताउनुभयो ।

प्राडा हिरण्यलाल ज्ञवालीले लोकप्रियतावाद र सङ्घीयता अलग अलग विषय भएकाले शीर्षक पनि अलग अलग राखेर बहस चलाउन सुझाव दिनुभयो ।
नेकपा विप्लव पक्षका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सेक्रेटरी वीरेन्द्र सीले सबै वामपन्थीले आआफ्नो भूमिकाको समीक्षा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) का लुम्बिनी प्रदेश सदस्य जुद्धबहादुर विक, नेकपा (माओवादी केन्द्र) का प्रतिनिधि डा कृष्ण खनाल र क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता प्रेम सुवेदीले सङ्घीयताको आवश्यक रहेको बताउनुभयो ।
बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्लाका अध्यक्ष लीला केसीले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्रमाथि प्रगतिशील लेखक रामचन्द्र श्रेष्ठ, प्राध्यापक ईश्वरीप्रसाद बस्याल, नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे र बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि अर्यालले टिप्पणी गर्नुभएको थियो ।
सो अवसरमा वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेल, प्राडा बाबुराम ज्ञवाली र नेपाल वार एसोसियन बुटवलका अध्यक्ष गोविन्द मरासिनीले पनि आआफ्ना धारणा राख्नुभएको थियो ।
हेमराज शर्माको अध्यक्षतामा अघि बढेको सो कार्यक्रमको सञ्चालन गोपाल गैरेले गर्नुभएको थियो ।