सन्धिखर्क । सङ्घीयता खारेजीका लागि आयोजित काठमाडौँकेन्द्रित आन्दोलनको स्थानीयस्तरको तयारीस्वरूप अर्घाखाँचीमा विभिन्न कार्यक्रम घोषणा गरिएको छ ।
महासचिव मनोज भट्टको प्रमुख आतिथ्यमा २०८१ पुस २३ गते मङ्गलबार सदरमुकाम सन्धिखर्कको डायमन्ड होटलमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिइएको हो ।
जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षता तथा जिल्ला सदस्य गोपाल पौडेलको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा पत्रकारले सोधेका जिज्ञासाबारे महासचिव भट्टले स्पष्ट पार्नुभएको थियो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरपालिका मेयर झबिलाल थापा, केन्द्रीय सदस्य यमलाल पोख्रेल, राजमो लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष शेरबहादु बिसीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वाचन गरिएको प्रेसनोटमा काठमाडौँकेन्द्रित आन्दोलनलाई सफल बनाउन पालिकास्तरीय सङ्घर्ष समिति गठन गरिएको, माघ महिनामा पालिकाका विभिन्न स्थानमा सभा गर्ने, सो क्रममा प्रचार प्रसारका साथै आर्थिक अभियान सञ्चालन गर्ने, सदस्यता वितरण गर्ने, जनभेटघाट, भित्तेलेखनलगायत कार्यक्रम गरिने जानकारी दिइएको छ ।
प्रेसनोटको पूर्ण पाठ यस प्रकार छ :
“१. राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आज २०८१ पुस २३ गते “सङ्घीयता विरुद्धको राजधानीकेन्द्रित आन्दोलन” को तयारीसम्बन्धी कार्यक्रमको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा उपस्थित प्रमुख अतिथि महासचिव का. मनोज भट्ट, अतिथि तथा पत्रकार साथीलाई राष्ट्रिय जनमोर्चाको तर्फबाट हार्दिक स्वागत गर्दछु ।

२. राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिले २०८१ चैत २४–३० गतेसम्म सप्ताहव्यापी “सङ्घीयता विरुद्धको राजधानीकेन्द्रित आन्दोलन” लाई सफल पार्न राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले प्रचारात्मक, सङ्गठनात्मक तथा आर्थिक अभियानसम्बन्धी कैयौँ कार्यक्रमबारे निर्णय गरेको छ । उक्त निर्णयलाई सार्वजनिक गर्न यो पत्रकार सम्मेलनको आयोजना गरेका छौँ । सङ्घीयता विरुद्धको राजधानीकेन्द्रित आन्दोलनलाई सफल पार्न अर्घाखाँची जिल्लाले बनाएका सङ्घर्षका कार्यक्रमलाई बढीभन्दा बढी जनताका बिच सम्प्रेषण गरिदिनुहुन सम्पूर्ण पत्रकार साथीहरूलाई अनुरोध गर्दछु ।
३. पत्रकार साथीहरूलाई अवगत भएकै कुरा हो कि नेपालमा सङ्घीयता लादेदेखि नै राष्ट्रिय जनमोर्चाले नेपालको हकमा राजनीतिक, ऐतिहासिक, आर्थिक, सांस्कृतिक, भौगोलिक, भूराजनीतिक कुनै पनि दृष्टिकोणले सङ्घीय शासन प्रणाली उपयुक्त नभएको कुरा बारम्बार उठाउँदै र सङ्घीयताको खारेजीका लागि सङ्घर्ष गर्दै आएको छ । सङ्घीय शासनको झन्डै झन्डै एक दशकको अनुभव र व्यावहारिक अभ्यासबाट समेत सङ्घीयता नेपालको लागि उपयुक्त प्रणाली नभएको स्पष्ट भइसकेको छ । कुनै मुलुकका लागि सङ्घीयता उपयुक्त हुन सक्दछ । सङ्घीयता उपयुक्त भएका मुलुकले उक्त प्रणाली अपनाएका पनि छन् तर नेपालको सन्दर्भमा उपयुक्त नभएको कुरा व्यवहारबाट नै प्रमाणित भइसकेको छ । त्यसैले सङ्घीयताको मुख्य पक्ष प्रदेश तहलाई खारेज गरिनुपर्दछ । प्रदेश तहका कारण मुलुकलाई अनावश्यक आर्थिक भार पार्नुका साथै प्रशासनिक खर्चमा दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ । यदि प्रदेश तह खारेज गर्ने हो भने प्रदेश तहका लागि भइरहेको अनावश्यक आर्थिक भारबाट मुलुक जोगिने छ । सङ्घीयताका लागि भइरहेको खर्चबाट हामीले शिक्षा र स्वास्थ्य जनतालाई निःशुल्क उपलब्ध गराउन सक्दछौँ । त्यसैले हाम्रो पार्टीले प्रदेश तहको खारेजीका लागि जनदबाब सृजना गर्न नै सङ्घीयताका विरुद्ध सप्ताहव्यापी राजधानीकेन्द्रित आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको छ ।
४. सङ्घीयता विरुद्धको राजधानीकेन्द्रित आन्दोलनलाई सफल पार्न राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले निम्न तयारी तथा सङ्घर्षका कार्यक्रम तय गरेको छ :
(क) पुस महिनाभित्र राष्ट्रिय जनमोर्चाका स्थानीय समितिका साथै राष्ट्रिय जनमोर्चासम्बद्ध विभिन्न जनवर्गीय सङ्गठनका जिल्ला स्तरीय बैठक बसिसक्ने निर्णय भएको छ ।

(ख) सङ्घीयता विरुद्धको राजधानीकेन्द्रित आन्दोलनलाई सफल पार्न पालिकास्तरीय सङ्घर्ष सञ्चालन समिति गठन गर्ने निर्णय भएको छ ।
(ग) का. झबिलाल थापाको संयोजकत्वमा भूमिकास्थान नगरस्तरीय सङ्घर्ष समिति गठन गरिएको छ । उक्त समितिका सदस्यमा का. बाबुराम पन्थी, का. बुद्धि थापा, का. हिमलाल खनाल, का. कमला थापा, का. खिमानन्द बेल्बासे, का. हिमलाल बन्जाडे, का. कृष्णप्रसाद बन्जाडे, का. कृष्ण सुनार, का. बाबुराम बन्जाडे, का. नारायण घिमिरे, का. मेघराज खनाल, का. लक्ष्मी विक, का. विष्णु सारू, का. बिना थापा, का. भोजराज खनाल, का. हरि आले, का. शकुन्तला राना रहनुभएको छ ।
(घ) का. थम्मन केसीको संयोजकत्वमा सन्धिखर्क नगरस्तरीय सङ्घर्ष समितिको गठन गरिएको छ । उक्त समितिका अन्य सदस्यमा का. गोविन्द बिसी, का. पशुपति ढकाल, का. कल्पना पोख्रेल, का. चन्द्रप्रसाद बन्जाडे, का. लीला भुसाल, का. तुलसा बन्जाडे, का. रुद्र पराजुली, का. विशाल खड्का, का. सीता थापा, का. तिला थापा, का. दिलदार हुसेन, का. गोपाल पाण्डे रहनुभएको छ ।
(ङ) का. गोपाल पौडेलको संयोजकत्वमा पाणिनी गाउँपालिकास्तरीय सङ्घर्ष समिति गठन गरिएको छ । उक्त समितिको सदस्यमा का. कुलराज खनाल, का. देवीप्रसाद भुसाल, का. निमिराज घिमिरे, का. सावित्रा घिमिरे रहनुभएको छ ।
(च) का. जोखबहादुर सारूको संयोजकत्वमा शीतगङ्गा नगरस्तरीय सङ्घर्ष समिति गठन गरिएको छ । उक्त समितिका अन्य सदस्यमा का. गोपाल पौडेल र का. गोविन्द थापा रहनुभएको छ ।
(छ) का. भीमलाल आचार्यको संयोजकत्वमा मालारानी गाउँपालिका स्तरीय सङ्घर्ष समिति गठन गरिएको छ । उक्त समितिका सदस्यमा का. सागर केसी, का. कमलप्रसाद घिमिरे, का. वीरबहादुर कुँवर, का. गिरीप्रसाद आचार्य, का. कृष्ण सुनार, का. डिलबहादुर खत्री, का. सुदीप पन्थी, का. खगिश्वर बन्जाडे रहनुभएको छ ।
(ज) का. गङ्गाराम खनालको संयोजकत्वमा छत्रदेव गाउँपालिकास्तरीय सङ्घर्ष समिति गठन गरिएको छ । उक्त समितिमा का. सागर केसी, का. पशुपति ढकाल, का. दिलदार हुसेन, का. खिमनारायण पाण्डे सदस्य रहनुभएको छ ।
उपर्युक्त समितिले आआफ्ना पालिकामा सङ्घीयता विरुद्धको राजधानीकेन्द्रित आन्दोलनमा जनशक्ति राजधानी उतार्ने, जनभेटघाट, प्रचार प्रसार, सङ्गठन निर्माण तथा आर्थिक सङ्कलनसम्बन्धी अभियान सञ्चालन गर्नेछन् ।

५. जिल्लाका निम्न पालिकामा सभा आयोजना गर्ने निर्णय भएको छ । ती सभामा केन्द्रीय, प्रदेश तथा जिल्लास्तरीय नेताले सम्बोधन गर्नुहुने छ । वक्ताबारे हामीले क्रमशः जानकारी गराउँदै जाने छौँ ।
मालारानी गाउँपालिका : (१) खनदह माघ ९ गते, (२) बाङीमा माघ १२ गते, (३) रतनमारेमा माघ १५ गते, (४)े गोखुङ्गामा माघ १७ गते ।
पाणिनी गाउँपालिका : (१) पोखराथोक माघ ५ गते, (२) दुर्गाफाँटमा माघ ६ गते, (३) खगडी माघ ७ गते ।
शीतगङ्गा नगरपालिका : (१) जलुके माघ ११ गते, (२) जुकेना माघ १२ गते, (३) ठाडाअमराई माघ १४ गते, (४) सीतापुर माघ १५ गते ।
सन्धिखर्क नगरपालिका : (१) वाङला माघ ५ गते, (२) नरपानीधारा माघ ९ गते, (३) फुदबाङ माघ १२ गते, (४) पकले माघ १५ गते, (५) मिर्लिङकोट माघ १९ गते, (६) जिमुरधुम माघ २२ गते, (७) बसपार्कमा माघ २३ गते र (८) भक्तिटोला माघ २४ गते ।

भूमिकास्थान नगरपालिका : (१) पिपलनेटा माघ ५ गते, (२) धारापानी माघ ९ गते, (३) उदयठाँटी माघ १३ गते, (४) नुवाकोट हटिया माघ १६ गते, (५) ठुलदेवा माघ १९ गते ।
छत्रदेव गाउँपालिका : (१) माघ ५ गते चिदिका, (२) माघ ६ गते केरुङा, (३) माघ ७ गते तारुधतेरा ।
६. माघ महिनाभरि व्यापक सदस्यता वितरण, जनभेटघाट, पर्चा वितरण, भित्तेलेखन सङ्गठन निर्माण तथा सदस्यता नवीकरण कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गरिने छ ।
७. फागुन १ देखि चैत्र १५ गतेसम्म सङ्घीयता विरुद्ध राजधानीकेन्द्रित आन्दोलनको सहयोगार्थ व्यापक आर्थिक अभियान सञ्चालन गरिने छ ।
८. उपर्युक्त सङ्घर्षका कार्यक्रम सफल पार्न विभिन्न जनवर्गीय सङ्गठनले स्वयम्सेवक उपलब्ध गराउने निर्णय भएको छ ।
९. सङ्घीयता विरुद्धको आन्दोलन दलविशेषको नभएर हामी सबै नेपाली जनताको आन्दोलन हो । सङ्घीयता विरुद्धको आन्दोलन नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डता तथा गणतन्त्रको रक्षासँग सम्बन्धित रहेकाले सङ्घीयताको खारेजीलाई दलीय सीमाभित्र नहेरी समग्र नेपालीको हितसँग जोडेर हेर्न हामीले सम्पूर्णसँग अपिल गर्दछौँ ।
१०. सङ्घीयता विरुद्ध राजधानीकेन्द्रित आन्दोलनलाई सफल पार्न त्यसको तयारीस्वरूप जिल्लाले तय गरेका कार्यक्रम बढीभन्दा बढी जनताका बिच सम्प्रेषण गरी दिन हुन हार्दिक अनुरोध गर्दछौँ ।”
