काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका तीन नेताले पार्टी कार्यालय पेरिसडाँडामा आमरण अनसन थालेका छन् ।
अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको स्थगित बन्दसत्र मंसिर २३ गते गर्नुपर्ने माग गर्दै उनीहरू अनसन बसेका हुन्।
पार्टी कार्यालयमा आमरण अनसन बस्नेहरुमा रावलसहित निःवर्तमान केन्द्रीय सदस्य जनक ढुंगाना र निःवर्तमान केन्द्रीय सदस्य खगेन्द्र रावल छन्।
पछिल्लो समय नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट नभई पार्टीले तोकिदिने बहस शुरु भएको उनीहरूको आरोप छ ।
सम्मेलनको स्थगित प्रक्रिया सुरु गर्न तीन हप्ता समेत बाँकी नरहेको अवस्थामा पार्टीले कुनैपनि प्रकारको सर्कुलर जारी नगर्दा सम्मेलनको बन्दसत्र झन् अनिश्चित भएको अखिल क्रान्तिकारीका निःवर्तमान केन्द्रीय उपाध्यक्ष रावलले बताए।
स्थगित बन्दसत्रको बाँकी प्रक्रिया पूर्वनिर्धारित समयमै गर्न र नेतृत्व चयन समेत प्रतिनिधिले निर्वाचन प्रक्रियाबाट गर्न अनसनरत विद्यार्थीको माग छ।