काठमाडौँ । प्रतिनिधिसभाबाट पारित शान्तिप्रक्रिया (टिआरसी) विधेयकमा आफ्नो पार्टीको विरोध रहेको राष्ट्रिय जनमोर्चाले स्पष्ट पारेको छ ।
राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले २०८१ भदौ १ गते शनिबार जारी गर्नुभएको वक्तव्यमा यस्तो स्पष्टीकरण दिइएको हो ।
वक्तव्यमा राजमो अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभामा वाचन गरेको लिखित मन्तव्यको हवाला दिइएको छ ।
मतदानको बेलामा ट्वाइलेट जानुपरेकाले अध्यक्ष केसीले विधेयकको विपक्षमा मतदान गर्न नपाएको वक्तव्यमा उल्लेख छ ।
यस्तो छ प्रेसवक्तव्यको पूर्ण पाठ :
“संसद्मा शान्तिप्रक्रिया (टिआरसी) सम्बन्धी विधेयकमा भएको मतदानबारे एउटा भ्रमलाई स्पष्ट गर्नका लागि यो स्पष्टीकरण जारी गरिएको छ ।
गत साउन महिनाको ३० गते उक्त विधेयकमा मतदान गर्दा राष्ट्रिय जनमोर्चाले त्यो विधेयकको विपक्षमा मतदान गरेको भन्ने कुरा समाचारमा आएको छ । त्यो समाचारमा सत्यता पनि छ तर त्यसको अर्थ हाम्रो पार्टीले त्यो विधेयकलाई समर्थन गरेको अवश्य पनि होइन ।
त्यो विधेयकमा छलफल हुँदा हाम्रो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले लिखित रूपमा नै त्यो विधेयक विरुद्ध आफ्नो मत राख्नुभएको थियो र उहाँको त्यो मन्तव्य सार्वजनिक पनि भइसकेको छ । त्यसबाट त्यो विधेयकबारे हाम्रो पार्टीको के थियो ? त्यो कुरा स्पष्ट नै छ । त्यो विधेयकमा मत राख्न पाएको भए हाम्रो मत त्यसका विरुद्ध नै हुने कुरा निश्चित थियो तैपनि त्यसमा हाम्रो पार्टीले त्यो बेला आफ्नो मत किन राख्न सकेन ? यो वक्तव्य त्यो तथ्यमाथि प्रकाश हाल्ने प्रयत्न गरिएको छ ।
सदनमा त्यो विधेयकमाथि छलफल चलिरहेको थियो । त्यही बेला कामरेड केसी ट्वाइलेट जानुभएको थियो । त्यही बेला त्यो मतभेदबारे ‘हुन्छ’ र ‘हुन्न’ भन्ने विषयमा सभामुखले ध्वनिमत गराए । उहाँ ट्वाइलेटबाट फर्किंदा त्यो मतदान पूरा भइसकेको थियो र हाम्रो पार्टीको अध्यक्षलाई त्यो मतदानमा भाग लिने अवसर प्राप्त हुन सकेको थिएन तर उहाँले मतदानमा भाग लिन नपाएको भए पनि त्यससम्बन्धी छलफलमा संसद्मा उहाँले पेस गरेर लिखित र सार्वजनिक पनि भएको मन्तव्यबाट त्यो विधेयकका विरुद्ध नै हाम्रो मत रहेको कुरा हामीले स्पष्ट गर्न चाहान्छौँ ।”





