गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा वृक्षारोपण गरेर २०८२ साउन २९ गते मङ्गलबारका दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ ।
हरियाली सडक प्रवर्द्धन गर्ने उद्देश्यले भूमिकास्थानको कार्यालयदेखि घाटाखोलासम्म सडकछेउमा वृक्षारोपण गरी सो दिवस मनाइएको हो ।
नगर परिसरमा गुल्मर जातको फुलको बिरुवा रोपेर नगरप्रमुख थापाले वृक्षारोपणको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भूमिकास्थान नगर प्रमखु झबिलाल थापाले वातावरणीय तथा पर्यावरणीय सन्तुलन कायम राख्न वृक्षारोपणसँगै रोपिएका विरुवा संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

यस क्रममा नगरपालिका कार्यालय परिसरदेखि घाटखोलासम्म विभिन्न प्रजातिका करिब तीन हजार बिरुवा रोपिएको थियो । सामाजिक कार्यमा युवाहरूको लगाव बढाउन र नगरपालिकाको हरियाली सडक अभियानलाई टेवा पुर्याउन बिरुवा रोपेर युवा दिवस मनाइएको नगरस्तरीय युवा सञ्जालका संयोजक टेकराज भुसालले जानकारी दिनुभयो ।
नगरउपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत जग्दीशचन्द्र नेपाली, वडा नम्बर ८ का वडाध्यक्ष राजकुमार श्रेष्ठसहित जनप्रतिनिधि, कर्मचारी र करिब १०० जना युवा स्वयम्सेवकको उपस्थितिमा वृक्षारोपण गरिएको युवा सञ्जालले जनाएको छ ।
