खलङ्गा । प्युठानको मल्लरानीमा अखिल (छैठौं) को पालिकास्तरीय तेस्रो भेला सम्पन्न भएको छ ।
महासचिव सुवाश जिसीको प्रमुख आतिथ्यमा २०८१ साउन २१ गते आइतबार सदरमुकाम खलङ्गामा उक्त भेला सम्पन्न भएको हो ।
भेलाका प्रमुख अतिथि महासचिव जिसीले ब्यानर पढेर भेलाको उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले नयाँ पिँढीमा बढ्दै गइरहेको राजनैतिक वितृष्णाले देशलाई ठुलो नोक्सान भइरहेको जिकिर गर्नुभयो ।
राजनीति नसुध्रिएसम्म समाजका कुनै पनि आयाममा सुधार नहुने भन्दै उहाँले राजनीतिलाई सुधार गर्न युवाविद्यार्थी र सचेत वर्गले राजनीतिमा भाग लिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो– ‘अहिले आम रूपमा विद्यार्थीले राजनीति गर्नुहुँदैन भनेर दुष्प्रचार गरिएको छ । सचेत र जागरुक वर्गले राजनीति नगरेर लठैतको हातमा राज्यसत्ता बुझाएपछि देशको दुर्गतीबाहेक अरू केही हुँदैन ।’
भेलामा राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्री, अखिल नेपाल शिक्षक सङ्घका महासचिव चक्रपाणि पौडेल, अखिल नेपाल किसान महासङ्घ (अप्फा) प्युठानका अध्यक्ष गिरिराज पौडेल, शिक्षक सङ्घका प्रदेश सचिव कल्याण खड्का, अखिल नेपाल युवक सङ्घका उपाध्यक्ष हुमलाल नेपालीलगायतको आतिथ्य एवम् शुभकामना मन्तव्य रहेको थियो ।
अध्यक्षमा नेपाली
भेलाले सावित्रा नेपाली अध्यक्ष रहनुभएको १५ सदस्यीय अखिल (छैठौं) को गाउँपालिका समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा पर्वत रानामगर, सचिवमा करिश्मा परियार, सहसचिवमा भूमिका सेन र कोषाध्यक्षमा प्रसान्त पौडेल चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा दिवस नेपाली, निसा राना, सारदा केसी, विजय जिएम, निश्चल परियार, सम्झना नेपाली, खिमा पुन, रिता परियारलगायत रहनुभएको छ ।
कार्यक्रमको सञ्चालन जिल्ला अध्यक्ष केशव बुढाथोकीले र अध्यक्षता सावित्रा नेपालीले गर्नुभएको थियो ।
अखिल (छैठौं) प्युठानका जिल्ला अध्यक्ष केशव बुढाथोकीका अनुसार युनियनले जिल्लाका सबै पालिकामा सङ्गठन निर्माणलाई तीव्रता दिएको छ । त्यस क्रममा आगामी असोज २ र ३ गते अखिल (छैठौं) प्युठानको जिल्ला सम्मेलन हुने भएको छ ।
