काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले उपसभापति स्वर्णिम वाग्लेप्रति गम्भीर आरोप लगाएका छन्– स्वर्णिमले नेपाललाई भारतको राज्य बनाइदिऊँ भने ।
हिमालय टेलिभिजनबाट २०८१ असार २९ गते शनिबार राति ९ बजे प्रसारित “अँध्यारोबाट उज्यालोतिर” कार्यक्रममा सञ्चारकर्मी टीकाराम यात्रीसित कुराकानी गर्दै ढकालले यस्तो आरोप लगाएका हुन् ।
‘उहाँ (रवि लामिछाने) गृहमन्त्री भइसकेपछि एउटा होटेलमा हामीले भारतीय राजदूतलाई भेट्यौँ । म, रविजी, शिशिर खनाल, स्वर्णिम वाग्ले र त्यतापट्टिबाट आफ्नो टिम पनि थियो’ उनले भने– ‘त्यति बेला स्वर्णिमले भन्नुभयो– ‘नेपाललाई भारतको राज्य बनाइदिनका लागि या भुटान स्टेट बनाइदिनका लागि एग्रिमेन्ट गरिदिऊँ । त्यो गरिसकेपछि तिनीहरूले मान्छन् ।’
उक्त अभिव्यक्तिपछि स्वर्णिमलाई मनले नेता नमानेको ढकालले बताए । साथै उनले केही बेरको अन्यौलपछि आफूमा रास्वपा र रवि लामिछानेप्रति विद्रोहको भावना उत्पन्न भएको दाबी पनि गरे ।
अन्तर्वार्तामा उनले आफूले रास्वपाभित्र रहँदा भारत मामिला हेर्ने गरेको जानकारी दिएका छन् । कार्यक्रममा उनले नेपालको क्रिकेटको विकासका लागि भारतसित लगातार सम्पर्कमा रहेर काम गरेको पनि दाबी गरे ।
रविको योजनामा स्वर्णिम
अन्तर्वार्तामा ढकालले रविको योजनामा स्वर्णीमले यस्तो धारणा अघि सारेको पनि बताएका छन् ।
‘दोस्रोपटक सरकार बनिसकेपछि उहाँ (रवि) ले बारम्बार भन्नुभयो– भारतका लागि म जे पनि गर्न तयार छु । मलाई प्रधानमन्त्री बनाउन भारतलाई मनाऊँ भनेर उहाँले मलाई पठाउँनुभयो’ उनले भनेका छन् ।
साथै उनले आफूले सो कुरा कहिल्यै स्वीकार नगरेको पनि बताएका छन् बरु त्यसबाट आफू आक्रोशित भएको पनि बताए ।
स्वर्णिमको धम्की
यता, ढकालले यो घटनाको भोलिपल्ट आफूलाई उपसभापति स्वर्णिमको तर्फबाट धम्की आएको पनि बताएका छन् ।
असार ३० गते फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो जानकारी गराएका हुन् ।
“स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइनँ” उनले अगाडि लेखेका छन्– “मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनँ’… लगायत अनेक भनेकाले, हिजै राति इलाकाको डिएसपिलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।”
ढकाललाई रास्वपाले पार्टीबाट निलम्बन गरेको छ । पार्टीको निर्णयबिना पार्टीको अवस्थासम्बन्धी अनुसन्धान प्रतिवेदन मिडियामा सार्वजनिक गरेको भन्दै उनलाई निलम्बन गरिएको हो । निलम्बनपछि पनि उनको व्यवहारमा सुधार नआएको भन्दै उनलाई साधारण सदस्यताबाट निष्काशन गर्ने तयारी भइरहेको सो पार्टी स्रोतले जनाएको छ ।