काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले इजरायल अमेरिकाको एसिया छिर्ने आधारक्षेत्र बनेको धारणा व्यक्त गर्नुभएको छ ।
अमेरिकी तथा इजरायली साम्राज्यवादका विरुद्ध नेकपा (मसाल), राष्ट्रिय जनमोर्चासहितका वामपन्थी दलले २०८२ असार ११ गते बुधबार आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
अमेरिकाले विश्वका विभिन्न देशलाई आपसमा लडाउन सैन्य अखाडा स्थापना गरेको फेहरिस्त प्रस्तुत गर्दै अध्यक्ष केसीले मन्तव्यमा चीनको वरपर मात्रै दुई सय पचासओटा सैन्य क्याम्प खडा गरेको बताउनुभयो ।
अमेरिकाका यी सैन्य क्याम्प मुख्यतः दक्षिण एसिया घेर्न बनाइएको उहाँको आरोप थियो ।
इजरायललाई आधारक्षेत्र बनाएर त्यसबाट मुख्यतः चीन घेर्न दक्षिण एसियामा अमेरिकी चलखेल बढेको बताउँदै उहाँले साम्राज्यवादी युद्धको विरोध गर्नु अत्यावश्यक भइसकेको विचार व्यक्त गर्नुभयो ।
यस्तो छ, मन्तव्यको पूर्ण पाठ :
हाम्रो पार्टीले इजरायले अमेरिकी साम्राज्यवादको सहयोगमा प्यालेस्टाइनी जनतामाथि गरेको बर्बर हत्या, विध्वंस र मानव नरसंहारको घोर भर्त्सना गर्दछ । गाजामा अहिलेसम्म झन्डै ६० हजार निर्दोष तथा निहत्था मान्छेको इजरायली आक्रमणमा परी हत्या भइसकेको छ । त्यहा“का संरचना ध्वस्त भएका छन् । ती संरचना पुनर्निर्माण गर्न दशकौँ लाग्नेछन् ।
इरानले प्यालेस्टाइनको पक्ष लिएका कारण बदलास्वरूप इजरायलले अमेरिकी साम्राज्यवादको आडमा गत एक सातादेखि इरानमाथि आक्रमण सुरु गरेको छ । इरान–इजरायलबिचको युद्ध इरानले प्यालेस्टायनी जनताको पक्ष लिएको सहउपज हो ।
इजरायल र अमेरिका दुईस“ग आणविक हतियार छन् तर इरान आणविक राष्ट्र बन्न थालेको बहाना देखाएर इरानमाथिको आफ्नो आक्रमणको औचित्यलाई इजरायल र अमेरिकाले पुष्टि गर्न खोजिरहेको छ, जुन गलत छ । निश्चित रूपले आणविक हतियार कसैले पनि उत्पादन गर्न पाउ“दैन । उत्पादन हतियारको निःशस्त्रीकरण गरिनुपर्छ । आफूस“ग आणविक हतियार कायम राखेर अरूको निशस्त्रीकरणको बहानामा आक्रमण गर्नु दादागिरी हो ।
अमेरिकाले तेस्रो विश्वका मुलुकहरू एसिया, अफ्रिका र ल्याटिन अमेरिकामाथि लगातार त्यहा“का खनिज, खानी, प्राकृतिक स्रोतसाधनमाथि कब्जा गर्न विभिन्न बहानामा आक्रमण गर्ने, आर्थिक तथा सैन्य नाकाबन्दी गर्ने आफ्नो अधिनमा पार्ने, परमाणु हतियारको निर्माण र सङ्कलनको निहु“मा कथित निशस्त्रीकरण गर्न भनेर हमला गर्ने गर्दै आएको छ । एसिया, अफ्रिका, ल्याटिन अमेरिका मात्र होइन, युरोपका समेत विभिन्न मुलुकलाई भयदोहन गरेर आफ्ना सैन्य अखडा खडा गरेको छ । युरोपमा झन्डै एक लाखभन्दा बढी सेना अमेरिकाले तैनाथ गरेको छ भने मध्यपूर्वी एसियामा १७ ओटा सैन्य अखडा रहेका छन् । अफ्रिकाका ३५ ओटा मुलुकमा अमेरिकी सेनाले घुसपैठ गरेको छ । ल्याटिन अमेरिकाका २१ ओटा मुलुकमा अमेरिकाले लामो समयदेखि आक्रमण, हस्तक्षेप गर्दै आएको छ । एउटा मुलुकलाई अर्काका विरुद्ध खडा गर्ने, विभिन्न मुलुकका नागरिक सरकारलाई ढालेर आफ्नो कठपुतली सरकार बनाउने गरेको लामो शृङ्खला छ ।
अमेरिका दक्षिण एसियामा प्रवेश गरेर चीनलाई घेर्ने उद्देश्यले लामो समयदेखि विभिन्न षड्यन्त्र गर्दै आइरहेको छ । चीनस“ग सीमा जोडिएका हिन्दप्रसान्त क्षेत्रका देशलाई अमेरिकाले चीनका विरुद्ध अमेरिकी क्याम्पमा सामेल गर्ने प्रयत्न गरिरहेको छ । त्यही नीतिअनुरूप श्रीलङ्कामा अमेरिकी सेना तैनाथ गर्न अनुमति पाउने गरी सन् १९९५ मा अमेरिका र श्रीलङ्काबिच हस्ताक्षर भएको स्टेटस अफ फोर्स एग्रिमेन्ट (सोफा) लाई कार्यान्वयन गर्न दबाब दिइरहेको छ । बङ्गलादेशमा सेन्ट मार्टिन टापुलाई कब्जा गर्न अमेरिकाले षड्यन्त्र गर्दै आएको छ । पाकिस्तानलाई अमेरिकी धुरीमा राख्ने षड्यन्त्र नमानेका कारण इमरान खान सरकारको बर्खास्ती केही समययता अमेरिकाले नेपाललाई आफ्नो साम्राज्यवादी रणनीतिअनुरूप उच्च प्राथमिकता दिने मत्र होइन, भारतजस्तै अमेरिकाले पनि नेपाललाई माइक्रो म्यानेजमेन्ट गर्ने दिशामा अगाडि बढिरहेको छ ।
अमेरिकाले चीनको वरपर झन्डै २५० ओटा सैन्य अखडा खडा गरेको छ । यी सबै घटनाक्रमबाट अमेरिकी साम्राज्यवाद दक्षिण एसिया, अझ त्यसमा पनि नेपाल आउन चाहिरहेको तथ्यले स्पष्ट छ । त्यसका लागि इजरायललाई अमेरिकाले आधारक्षेत्रको रूपमा प्रयोग गरिरहेको छ । अमेरिकाले गरेका यी सबै युद्ध विभिन्न मुलुकलाई आफ्नो प्रतिस्पर्धा आउन नदिन त्यहा“का खानी वा प्राकृतिक स्रोतमाथि कब्जा जमाउने साम्राज्यवादी उद्देश्यद्वारा नै आक्रमण गरिरहेको छ । त्यसैले हामी वामपन्थी शक्तिहरूले अमेरिकाको साम्राज्यवादी युद्धको विरोध गर्नुपर्दछ । त्यसको पक्षमा आउने शक्तिस“ग ऐक्यबद्धता कायम गर्नुपर्छ ।”