काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्धको संयुक्त आन्दोलनमा आचारसंहिताको ख्याल गर्न सहयात्री दलहरुसँग आग्रह गरेको छ ।
मंगलबार भएको संसद भवन घेराउका क्रममा सहमतिविपरित राजावादी पक्षलाईसमेत आन्दोलनमा सहभागी गराइएको र वक्ताको रुपमा सामेल गरिनु ‘आचारसंहिताको उल्लंघन भएको’ मसालले स्पष्ट पारेको छ ।
आफ्नो पार्टीको राजावादी तथा एमालेसँग कार्यगत एकताको नीति नरहेको दोहोर्याउँदै संयुक्त आन्दोलनका क्रममा सहमतिबेगरका निर्णय बिचमा नगर्न पनि मसालले सहयात्री दलहरुसँग आग्रह गरेको छ । साथै मंगलबार जारी संयुक्त वक्तव्यमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर उहाँहरुको नभएको पनि मसालले स्पष्ट पारेको छ ।
प्रवक्ता रामप्रकाश पुरीले प्रेसित गर्नुभएको वक्तव्यमा एमसीसीविरुद्ध आन्दोलनका क्रममा प्रहरीले गरेको हस्तक्षेपप्रति भर्त्सना गर्दै घाइते नेता कार्यकर्ताको स्वास्थ्यलाभको कामनासहित गिरफ्तार सबै नेताहरुको बिनासर्त रिहाईको माग गर्नुभएको छ ।
यस्तो छ वक्तव्य
‘ने.क.पा.(मसाल), राष्ट्रिय जनमोर्चा सहित ८ दलद्वारा एमसीसी विरुद्ध संसद घेराउको आजको कार्यक्रममा सरकारले गरेको दमनको हामीले विरोध र भ्रत्र्सना गर्दछौँ । विरोध प्रदर्शनको सिलसिलामा गिरफ्तार सबैको तुरुन्त रिहाइ गर्न तथा सरकारको दमनबाट घाइते हुनुभएका सबै नेता एवम् कार्यकर्ताको यथोचित उपचार गर्न सरकारसित माग गर्दछौँ ।
यसै सिलसिलामा एमसीसी विरुद्ध चितवन बन्द कार्यक्रमको सिलसिलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डम्बर पुरी सहित आन्दोलन सहकर्मी विभिन्न राजनीतिक संगठनका नेता तथा कार्यकर्तालाई पनि प्रहरी गिरफ्तार गरेको छ ।
हामीले त्यो गिरफ्तारीको विरोध र भ्रत्र्सना गर्दै गिरफ्तार सबैलाई तुरुन्त रिहाइको माग गर्दछौँ । आजको संसद घेराउ कार्यक्रममा संयुक्त आन्दोलनमा रहेका ८ दलभित्रबाट नै सम्पूर्ण जिम्मेवारी बहन हुने पूर्व निर्णय भएको थियो ।
तर कतिपय असान्दर्भिक र निर्णय नभएका विषयलाई पनि आन्दोलनभित्र प्रवेश गराउने काम भएकोले कार्यक्रमको अन्ततिर हामीले बाहिरिनु परेको थियो । अहिलेको देशको राजनीतिक सन्दर्भमा हाम्रो पार्टीको ओली र राजावादी पक्षसँग कुनै पनि कार्यगत एकता गर्न नसकिने भन्ने नीति रहेको छ । हाम्रो पार्टीको त्यस प्रकारको नीतिको आधारमा नै पहिले पनि कतिपय पक्षहरूले राजावादी पक्षहरूलाई सामेल गरेकोले हामीले त्यसमा सामेल हुन अस्वीकार गरेका थियौँ ।
आन्दोलनका सबै पक्षसित हामीले हाम्रो स्थितिलाई पहिले पनि स्पष्ट गरेका थियौँ । त्यो कुरा स्पष्ट गरिसकेपछि नै हामीले यो आन्दोलनको लागि कार्यगत एकता गरेका थियौँ । तर कार्यक्रमको अन्ततिर राजावादी पक्षहरूलाई पनि सामेल गरेको कुरा स्पष्ट भएकोले र राजावादीहरूलाई समेत वक्ता बनाइएको त्यस प्रकारको कार्यक्रममा हाम्रो सहमति रहन सक्दैन्थ्यो र त्यसैले अन्तमा हामी चूपचाप त्यहाँबाट बाहिरिएका थियौँ ।
त्यसो गर्नुपर्ने अवस्था सृजना भएकोमा हामीले दुःख प्रकट गर्दछौँ । यस सन्दर्भमा आज जारी ८ दलको वक्तव्य भनी सार्वजनिक गरिएको वक्तव्यमा हाम्रो पार्टीका महामन्त्री का. मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर के.सी.को हस्ताक्षरको प्रयोग गरिएको भएपनि हाम्रो सहमति बेगर जारी गरिएको हो ।
त्यो वक्तव्य जारी गर्दा उहाँहरूले हामीलाई सम्पर्क गर्ने प्रयास गर्नुभएको भएपनि सम्पर्क हुन नसकेको र त्यसबारे हाम्रो स्थितिबारे कुराकानी भएको थिएन । राजावादीहरूलाई सामेल गरिएको कुरालाई हामीले सहमति, निर्णय तथा संयुक्त संघर्षका आचारसंहिताको उलंघन भएको ठान्दछौँ ।
त्यो अवस्थामा संयुक्त वक्तव्य दिनका लागि हामी असमर्थ रहने कुरा स्वतः प्रष्ट छ । कार्यगत एकतामा रहेका सबै पक्षहरूसित इमान्दारिता र विश्वासमा संकट आउन नदिनाका लागि हामीले अनुरोध गर्दछौँ ।’
२०७८ मंसिर २८ गते ।